साहित्यकार रामदेव पाण्डेलाई बालसाहित्य वनिता पुरस्कार — OSNepal

साहित्यकार रामदेव पाण्डेलाई बालसाहित्य वनिता पुरस्कार

LC (KTM) May 01, 2022 0

साहित्य र विशेष गरी बालसाहित्य सिर्जनामा सक्रिय साहित्यकार रामदेव पाण्डेलाई “देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार २०७९” प्रदान गरिएको छ । पाण्डे साहित्यका अन्य विधासँगै बालसाहित्यमा खोजमूलक बालसिर्जना गर्ने विशिष्ट पहिचान बनाएका बालसाहित्यकार हुनुहन्छ । ऐरावती प्रकाशन काठमाडौँका अध्यक्ष समेत रहेका पाण्डे कुरीति विरुद्ध मानववादी अभियानका अभियन्तासमेत हुनुहन्छ ।

आज काठमाडौँमा आयोजित एक भव्य समारोहमा पाण्डेसहित पत्रिकाले २०७८ र २०७९ सालका साहित्य, सङ्गीत, रङ्गमञ्च, संचार र शिक्षाका क्षेत्रमा दिइने विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएको हो । विगत २४ वर्षदेखि निरन्तर प्रकाशित वनिता साहित्यिक पारीवारिक त्रैमासिक पत्रिकाले हरेक वर्ष विभिन्न सिर्जना तथा विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ । कोरोना महामारीका कारण दिन नसकिएका २०७८ सालका पुरस्कारहरू पनि यसपटक प्रदान गरिएको छ ।

पत्रिकाले रु. २५,००० राशि सहितको ’वनिताश्री कथा रत्न सम्बुद्ध अभिनन्दन -२०७८’ वरिष्ठ साहित्यकार डा. दयाराम श्रेष्ठ ’सम्भव’लाई प्रदान गरेको छ । यस्तै रू. १०,०१५ राशि सहितको ’वनिताश्री गोपालप्रसाद रिमाल काव्य सम्मान पुरस्कार- २०७८’ वरिष्ठ कवि, गीतकार दिनेश अधिकारीलाई प्रदान गरेको छ । पत्रिकाले रू.१०,००० राशि सहितको ’देवकुमारी थापा बालसाहित्य वनिता पुरस्कार’ २०७८ र २०७९ बाल साहित्यकार प्रभा भट्टराई र बाल साहित्यकार रामदेव पाण्डेलाई, रु. ५,००० राशि सहितको ’वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान’ २०७८ र २०७९ समालोचक डा. शैलेन्दुप्रकाश नेपाल र समालोचक डा. दुर्गाप्रसाद दाहाललाई प्रदान गरिएको छ ।

यसैगरी पत्रिकाले रू ५,५५५ राशि सहितको ’वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान पुरस्कार’ २०७८ र २०७९ कथाकार मातृका पोखरेल र कथाकार इल्या भट्टराईलाई, रू ५,०५५ राशि सहितको ’व्यथित काव्य वनिताश्री पुरस्कार’ २०७८ र २०७९ कवि कृसु क्षेत्री र कवि मनोज न्यौपानेलाई, रू.१५,००० राशि सहितको ’वनिता शिक्षा र साहित्य पुरस्कार २०७८’ शिक्षासेवी गायत्री श्रेष्ठलाई रू. १५, ००० राशि सहितको ’वनिता बहुआयामिक प्रतिभा पुरस्कार -२०७९’ बहुआयामी प्रतिभा मोहन अभिलाषीलाई, रू.१०,००५ राशि सहितको ’वनिताश्री उन्नती गीतसङ्गीत पुरस्कार’ २०७८ र २०७९ गायिका संगीता थापा शाक्यलाई र नेपाल आइडल सिजन ४ का विजेता भुपेन्द्र थापा मगरलाई प्रदान गरेको छ ।

यस्तै पत्रिकाले रू. ५,००० राशि सहित ’वनिता विशेष वसुश्री- मधु पुरस्कार’ २०७८ र २०७९ संचारकर्मी भगवती बस्नेत र रंगकर्मी पुरू लम्साललाई, रू. १०,००० राशि सहितको ’वनिताश्री पुरुषोत्तमराज पाण्डेय पुरस्कार’ ०७८ र ०७९ गायक जुजुकाजी रञ्जित र साहित्यकार धनकुटे कान्छालाई प्रदान गरेको छ । यसैगरी पत्रिकाले रू. १०,००० राशिसहितको ’वनिता जलेश्वरी बालप्रतिभा पुरस्कार’ २०७८ र २०७९ राइजिङ स्टार बोर्डिङ स्कुलका सानानानीहरू र प्रिभा रेग्मीलाई संयुक्त रुपमा प्रदान गरेको छ ।

यस्तै पत्रिकाले रू .५,००० राशिसहितको ’वनिता बालकलाकार पुरस्कार – २०७९’ कृशला श्रेष्ठलाई प्रदान गरेको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काँइलालाई विशेष विशेष अभिनन्दन गरिएको थियो । यसरी नै बलराम अधिकारीलाई भद्रकुमारी घले-उषा ठाकुर सम्मान प्रदान गरिनुका साथै जातीय विभेद विरुद्धका युवा अभियन्ता रिता परियारलाई सम्मान प्रदान गरिएको थियो । वनिताका सम्पादक एवं प्रकाशक लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं वरिष्ठ साहित्यकार बैरागी काइला रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर