‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’ - प्रदीप गिरी — OSNepal

‘पार्टीलाई नै परिवार सम्झेर किसुनजीको राजनीतिक जीवन बित्यो’ – प्रदीप गिरी

LC (KTM) June 11, 2021 0

काठमाडौँ, २८ जेठः नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई नैतिकता र मूल्य मान्यतामा आधारित राजनीतिका लागि बिर्सन नसकिनेमा जोड दिइएको छ । लोकतन्त्र संवाद केन्द्रले आज जुम प्रविधिबाट आयोजना गरेको ‘मूल्य र नैतिकतामा आधारित राजनीति र किसुनजीको सम्झना’ विषयक कार्यक्रममा विघटित प्रतिनिधिसभाका सांसद प्रदीप गिरीले राजकीय शक्ति दुरुपयोग गरेर धन कमाउनुभन्दा ठूलो अपराध केही हुन्न भन्ने दर्शनबाट पूर्वप्रधानमन्त्री भट्टराई निर्देशित हुनुभएको बताउनुभयो “किसुनजीको यो नैतिकताको स्रोत आध्यात्मिकता हो, पार्टीलाई नै परिवार सम्झेर उहाँको राजनीतिक जीवन बित्यो, आफूसँग असहमत हुनेसँग पनि कुरा गर्ने प्रजातान्तिक संस्कार उहाँमा थियो”–समाजवादी चिन्तक उहाँले भन्नुभयो ।

दुईपटक प्रधानमन्त्री भएर बालुवाटारबाट निस्कँदा पनि किसुनजीले छाता, सुराही र पुरानो ट्याङ्का लिएर निस्कनु नै उहाँको बिम्ब बनेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा वरिष्ठ पत्रकार युवराज घिमिरेले वर्तमान जटिल राजनीतिक परिस्थितिमा देशको राजनीतिक सार्वभौमसत्ता सुरक्षित राख्न किसुनजीको दर्शनअनुसार चल्न नेतृत्वलाई सुझाव दिनुभयो ।
पूर्वसचिव कृष्ण ज्ञवालीले अन्तरिमकालमा प्रधानमन्त्री बन्नुहुँदा किसुनजीले राजदरबारमा पठाउने पत्रमा त्यसअघि लेख्ने गरिएको ‘सरकारको अनन्य भक्त’ का स्थानमा ‘सरकारको हितैषी’ लेख्ने परम्पराको शुरुआत् गर्नुभएको स्मरण गराउनुभयो ।

कार्यक्रममा कृष्णप्रसाद भट्टराई फाउन्डेसनका महासचिव विनोदकुमार भट्टराईले सन्त नेता किसुनजीका विषयमा हालसम्म प्रकाशित नभएका विषय राखेर पुस्तक प्रकाशनको अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सो अवसरमा, पूर्व सांसद हीरादत्त भट्ट, नेपाल बार एसोसियसनका पूर्व अध्यक्ष शेरबहादुर केसी, डा पूर्णकान्त अधिकारी, काठमाडौँ काँग्रेसका नेता राजन केसी, केन्द्रका नारायण भट्टराई र प्रदीप शर्मालगायतले नेपालको राजनीतिलाई सदाचारयुक्त बनाउन किसुनजीको योगदानका विषयमा प्रकाश पार्नुभएको थियो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर