सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिन्ह प्रदान — OSNepal

सशस्त्र प्रहरी महानिरीक्षक अर्याललाई दज्र्यानी चिन्ह प्रदान

LC (KTM) May 02, 2022 0

काठमाडौँ-नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उहाँहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरीका महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवावधिका कारण अनिवार्य अवकाश भएपछि मन्त्रिपरिष्दको यही १८ गतेको निर्णयले उहाँहलाई महानिरीक्षकमा पदोन्नति गरेको हो । दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सुरक्षा अङ्गका महानिरीक्षकद्वय सिंह र अर्यालबाट मुलुकको शान्ति अमनचयन, सुशासन कायम राख्न तथा शान्तिपूर्ण र भयरहित निर्वाचन तथा सङ्गठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले राज्य र सरकारको अपेक्षा भनेको न्यायपूर्ण र शान्तिपूर्ण समाज निर्माणका लागि सङ्गठनलाई कसरी अग्रसर गराउने भन्ने रहेको र त्यस विषयमा कार्यकाल सफल होस् भनी शुभकामना गर्नुभयो । उहाँले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा अपराधविहीन र न्यायिक समाज निर्माणमा आफ्नो सङ्गठनलाई दृढतापूर्वक डोहो¥याउने काम हुने अपेक्षा रहेको बताउनुभयो ।

नेपालमा ७९ हजार नेपाल प्रहरी र ३७ हजार हाराहारीमा सशस्त्र प्रहरी जनशक्ति रहेकाले बदलिँदो समाजको आवश्यकता र मागलाई धान्न नसकिरहेको उल्लेख गर्दै गृहसचिव पाण्डेले भन्नुभयो, “प्रहरी चौकीको र इलाका प्रहरीको स्तरोन्नतिको मागलाई हेर्दा नेपाल प्रहरी न्यूनतम एक लाख र सशस्त्र प्रहरीको जनशक्ति ५० हजार पु¥याउनुपर्ने आवश्यकता छ ।” उहाँले दुवै सङ्गठनको पुनःसंरचना र जनशक्तिको क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

परम्परागत प्रहरी ढाँचाबाट आधुनिक प्रहरी ढाँचामा रुपान्तरण गर्नुपर्ने र आधुनिक प्रकृतिका अपराध विकास भइरहेकाले त्यसको नियन्त्रण र चुनौतीको सामना गर्न सक्षम प्रहरी सङ्गठन निर्माण, स्वस्थ्य सामाजिक संस्कार र सभ्याताको विकासका लागि प्रहरी सङ्गठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले औँल्याउनुभयो । गृहसचिव पाण्डेले त्यसतर्फ दुवै महानिरीक्षकबाट ठोस उपलब्धिमूलक र देखिने काम हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सङ्गठनमा क्षमतावान् प्रतिस्पर्धी जनशक्ति भित्र्याउनका लागि सक्षम जनशक्ति विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । गृहसचिव पाण्डेले सङ्गठनभित्रका आन्तरिक विकृति विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । गृहसचिव पाण्डेले सुरक्षाका लागि विकास र विकासका लागि सुरक्षा आवश्यक हुने भएकाले यी दुई विषय अन्तरसम्बन्धित रहेको र एकीकृतरुपमा अघि बढाउनुपर्ने सन्दर्भमा सँगसँगै रहेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

गृहसचिव पाण्डेले प्रहरी सङ्गठनमा नेतृत्व गर्नसक्ने व्यक्तिलाई नै जिम्मेवारी दिनेगरी सरकारले व्यक्ति रोजेको जानकारी दिनुभयो । “परिपक्वताका हिसाबले सरकाले छनोट गरेको ज्येष्ठताको विषय हो, कार्य क्षमता र कार्यकुशलताको विषय नियमावलीमा बोलेको छ, सरकारलाई नवनियुक्त महानिरीक्षकमा कार्यकुशलता र क्षमता तुलनात्मकरुपमा राम्रो लाग्यो”, गृहसचिव पाण्डेले भन्नुभयो, “उत्तरदायित्व बहन गर्नसक्ने क्षमता र नेतृत्व प्रदान गर्नसक्ने कुशलता, प्रहरी कर्मचारीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने सामथ्र्य उहाँहरुमा छ, यसलाई उहाँहरुले कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।”

समारोहमा नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक मर्यादाको परिधिभित्र रहेर काम गर्ने विश्वास दिलाउनुभयो । उहाँले राज्यले सुम्पिएको जिम्मेवारीलाई उच्च व्यावसायिकताका साथ जिम्मेवारी पूरा गर्ने र कर्मचारीको वृत्तिविकास, साङ्गठनिक सुदृढीकरणमा जोड, थपिएका सुरक्षा चुनौतीको सामना गर्न तथा अपराधी नियन्त्रणमा गम्भीरतापूर्वक लाग्दै आम नागरिकमाथि नेपाल प्रहरीप्रतिको विश्वास अभिवृद्धितर्फ आगामी रणनीति केन्द्रित रहने जानकारी दिनुभयो ।

उहाँले हरेक साङ्गठिनक क्रियाकलापलाई पारदर्शीतापूर्ण गरी भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता कायम राख्दै आपराधिक तत्वको क्रियाकलाप निमिट्यान्न पार्ने प्रतिबद्धता जनाउनुभयो । आफ्ना सहकर्मीलाई साथमा लिएर सङ्गठन सुधारमा लाग्ने र निकटमा आएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहति बनाउन प्रहरीको पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो ।
समाराहेमा नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीको कार्यसम्पादनका सूचक र मानकलाई अझै माथि उठाउन मानव संशाधनको विकास, आधुनिक प्रविधिको विकास र नतिजामुखी नवीन कार्यशैलीको कार्यसम्पादनलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

उहाँले शान्ति, सुशासन, विकास र समृद्धिका जनअपेक्षा पूरा गर्ने मूल उद्देश्यसहित गृहमन्त्रालयबाट अघि बढाइएको गृहप्रशासन सुधार योजनाअनुसार अघि बढ्ने प्रतिबद्धता पनि जनाउनुभयो । महानिरीक्षक अर्यालले स्थानीय तह निर्वाचनलाई प्राथमिकतामाथिको प्राथमिकतामा राखेर काम गर्ने विश्वास दिलाउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर