हावाहुरीले केरा खेतीमा क्षति, बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए — OSNepal

हावाहुरीले केरा खेतीमा क्षति, बिमा कर्मचारी पीडित किसानलाई नभेटी फर्किए

LC (KTM) May 05, 2022 0

बारा, २२ वैशाख-बाराको निजगढ नगरपालिकामा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बिमा कम्पनीका कर्मचारीहरू विवरण नलिई काठमाडौं फर्किने तयारी गरेपछि निजगढका पीडित किसान चिन्तित बनेका छन् ।केरा बिमा गरेका किसानको क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड काठमाडौं र सिमरा शाखाबाट खटिएका कर्मचारीहरूले केही किसानहरूलाई मात्र भेटेर अन्य किसानलाई चार पाँच घण्टाभित्र विवरण पेस गर्न खबर गरेपछि क्षतिको विवरण टिपाउन नपाएर किसानहरू चिन्तित बनेका हुन् ।

हुरीले क्षति गरेको केराको विवरण संकलन गर्न बिमा कम्पनीका कर्मचारीहरू बुधबार निजगढ आएका हुन् । ‘किसानलाई जानकारी नै नदिई कर्मचारीहरू आएका रहेछन्,’ किसान गोविन्द खरेलले भने, धेरैको विवरण टिपोट गर्न छुटेको छ ।’

उनका अनुसार कर्मचारीले बिमा गरेका निजढका करिब २४२ किसानमध्ये ४०/५० जनाको मात्रै विवरण लिएका छन् । बाँकी किसानको हकमा भने बुधबार साँझभित्र क्षतिको विवरण पेस गर्नु पर्ने भनेर खबर छोडेर कर्मचारीहरू फर्किएको उनले बताए । गत १६ बैशाखमा पानीसँगै आएको हुरीले केराको बोट ढालेर पाँच करोडभन्दा बढी मूल्यको केरा खेती नष्ट भएको उनले बताए ।

स्थानीय किसानका निजगढमा करिब १२ सय बिगा केरा खेती गरिएकोमा करिव १२० बिघा जमिनमा लगाइएको केराको बोट ढलेर पूर्णरुपमा क्षति भएको छ । हुरीले भर्खर पसाएको र पाक्ने बेला भएको केरा सबैभन्दा बढी ढालेको किसानहरूले बताएका छन । केरा पकेट क्षेत्रको रुपमा रहेको निजगढमा एक बिघा जमिनमा किसानले एक सिजनमा चार देखि ६ लाखसम्म आम्दानी लिँदै आएका थिए ।

निजगढमा केरा खेती गर्ने करिब सात सय किसानमध्ये थोरैले मात्र बिमा गरेको र बिमाबापतको रकम लिन उनीहरूले समस्या व्यहोर्नु परेको किसानहरूको गुनासो छ । गत वर्ष हावाहुरीले क्षति गरेको केराको रकम कम्पनीले अझै भुक्तानी नदिएको किसानले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर