निर्वाचन विशेष : माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति – OSNepal

निर्वाचन विशेष : माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति

LC (KTM) May 10, 2022 0

रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउनुहुन्छ । यतिबेला मत माग्दै आँगनमा आएका उम्मेदवारहरुसामु उहाँ यही दुःखेसो पोख्नुहुन्छ । उहाँ भन्नुहुन्छ – “माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ । पेशा जगेर्नाका लागि माटोको व्यवस्था हुनुप¥यो । उत्पादन भएका सामानको बिक्री वितरण गर्न उतिक्कै गा¥हो छ । उम्मेदवारले हाम्रो माग पूरा गरिदिनुपर्छ ।”

आफूले घरमा बनाएका हाँडी, घैंटा, भुड्का, खुत्रुके, पाला लगायतका माटाका भाँडाकुँडा अझैपनि डोकोमा बोकेर पाल्पा, स्याङ्गजा जस्ता जिल्लाका विभिन्न गाउँठाउँमा बिक्री गर्न उहाँ पुगिरहनुहुन्छ । सामान तयार पार्न चाहिने कच्चा पदार्थ माटो र दाउराकै समस्या मात्र हैन, बजारको पनि समस्या छ । पहिलेदेखि नै माटो निकाल्दै आएको ठाउँमा अहिले सडक बनेपछि माटो निकाल्न नपाएको उहाँकी श्रीमती कखरी कुमालले बताउनुभयो । कुमाल दम्पतीको दश जनाको परिवारको गुजारा यसैबाट चलिआएको छ । बाउबाजेको पालादेखि अपनाइआएको यो पेशाबाट टाढा रहन उहाँलाई मन छैन ।

उहाँले भन्नुभयो – “हातमा भएको सीप भनेको माटाका भाँडा बनाउने नै हो । अरु पेशा व्यवसाय छैन । भाँडा बनाएर बिक्री गरेमा दुई चार पैसा त हात पर्छ तर, अहिले समस्या छ ।”
माटोकै समस्याले कमै मात्रामा भाँडा तयार पार्ने गरेको बताउनुहुन्छ, ७० वर्षीय देवका कुमाल । ग्राहकको माग र रोजाइ अनुसारका सबै प्रकारका भाँडा बनाउने गरिए पनि आवश्यक माटो निकाल्ने ठाउँ नहुँदा व्यवसाय धान्न मुस्किल परिरहेको उहाँको भनाइ छ ।

त्यसैगरी, आफ्नो घरमा भोट माग्न आउने उम्मेदवारसामु आफूहरुलाई व्यवसाय गर्न सहज बनाइदिन माटो र दाउराको व्यवस्था गरिदिने उम्मेदवारलाई मत हाल्ने बताउनुहुन्छ, ६८ वर्षीय मनबहादुर कुमाल । कुमाल गाउँमा सबैका घर–घरमा माटोका भाँडा बन्थ्यो, घरका आँगन र पिँढीमा लहरै भाँडा सुकाइन्थ्यो । अहिले भने यहाँका दुई चार घरले मात्रै यो पेशा अपनाइआएका छन् । रामपुर–१० मा तल्लो र माथिल्लो कुमाल गाउँ छन् । यहाँ करिव दुई सय कुमाल परिवार बसोबास गर्दछन् । आफ्नो पुख्र्यौली पेशालाई धान्दैआएका ज्येष्ठ सदस्यहरुमा सीप हस्तान्तरणको चिन्ता छ । यो पेशालाई नयाँ पिँढीले अङ्गाल्न सकेका छैनन् ।

आफूले भोग चलन गर्दैआएको सार्वजनिक जग्गामा माटो निकाल्न रोक लगाएपछि पेशा सङ्कटमा परेको बताउनुहुन्छ, रामपुर नगरपालिका–६ तिलकपुरका युवा सोमबहादुर कुमाल । यहाँको बचाइनी भन्ने स्थानमा सुरक्षा बेस क्याम्प बसेपछि माटो निकाल्न रोक लगाइएको हो । तिलकपुर क्षेत्रमा मात्रै कुमाल समुदायको करिव दुई सय परिवार छ । पहिले सबै घरमा माटोको भाँडा बनाउने गरिएपनि अहिले माटो अभावले पेशा छाड्दै जाँदा सोमबहादुर एक्लैले यो व्यवसाय धानिरहनुभएको छ । यो पेशालाई निरन्तरता दिने चाहना भएपनि माटो पर्याप्त मात्रामा उपलब्ध नहुँदा उहाँलाई निल्नु न ओकल्नु जस्तै भएको छ ।

“माटो किनेर भाँडा बनाउनु पर्दा मेहनत अनुसारको लगानी उठाउन कठिन छ, सहज रुपमा माटो उपलब्ध गराइदिए पेशालाई निरन्तरता दिनेछु, स्थानीय सरकारले परम्परागत पेशालाई निरन्तरता दिन माटोको व्यवस्था गरिदिन प¥यो,” उहाँले भन्नुभयो । आफूले उत्पादन गरेका भाँडा बेझाड बजारका व्यापारीहरुलाई उहाँ बिक्री गर्नुहुन्छ । हिन्दु संस्कार अनुसार पूजाआजा, धार्मिक कार्यका लागि माटाका भाँडा नभई नहुने भएकाले कतिपय ग्राहक उहाँको घरैमा पुग्ने गर्छन् ।

रामपुर नगरपालिकाको गेझा, तिलकपुर, भलायटार क्षेत्रमा कुमाल समुदायको बाक्लो वस्ती छ । वर्षौंदेखि गर्दैआएको यो पेशा सङ्कटमा पर्न थालेपछि कतिपय कुमालहरु ज्याला मजदूरी गरी दैनिक गुजारा गर्न बाध्य भएका छन् । हाँडी, घैँटा, चिलिम, पाला, खुत्रुके लगायतका घरायसी उपयोगका भाँडा बनाउने माटाको सट्टा प्लाष्टिकका भाँडाको प्रयोग बढ्दै जाँदा व्यवसाय लोप हुने भय बढेको भन्दै बूढापाकाहरु चिन्ता व्यक्त गर्छन् ।

माटोको भाँडा बनाउन चिम्ट्याइलो माटो आवश्यक पर्छ । यस्तो माटो सबैतिर पाइँदैन । तीन थरीको माटो मिसाएर खुट्टाले मुछ्नुपर्छ । अहिले माटो मुछ्न मेसिन प्रयोग गर्ने गरिए पनि गाउँघरमा मेसिनको प्रयोग छैन । ग्राहकले कस्तो आकारको भाँडा खोजेको छ सोही अनुसार हातले आकार दिने हो । राम्रो आकार दिन सकिए छिटो खपत हुन्छ । तयार पारिएको भाँडालाई घाममा सुकाउने, रङ्ग लगाउने, भट्टीमा हालेर पोल्ने गरिन्छ । भट्टीमा हालेपछि भाँडा तयार हुन कम्तीमा पनि दश दिनको समय लाग्ने गरेको व्यवसायीहरु बताउँछन् । जिल्लाको घोरबन्दा, पोखराथोक, रामपुर, गेझा, चिर्तुङ्गधारा, ख्याहा लगायतका स्थानमा बसोबास गर्दैआएका कुमाल जातिले माटाका भाँडा बेचेर आफ्नो जीवन निर्वाह गर्दैै आएपनि अहिले पेशा नै लोप सङ्घारमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published.