तुलसीपुरमा झाडापखालाबाट दुई बर्षिय बालकको मृत्यु, चार जनाको उपचार हुँदै — OSNepal

तुलसीपुरमा झाडापखालाबाट दुई बर्षिय बालकको मृत्यु, चार जनाको उपचार हुँदै

LC (KTM) May 11, 2022 0

दाङ, २८ वैशाख-झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।

त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ ।

बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताउनुभयो । बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर