चुनावकै मुखमा सत्तारुढ-एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप — OSNepal

चुनावकै मुखमा सत्तारुढ-एमाले, माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

LC (KTM) May 11, 2022 0

काठमाडौं, २८ वैशाख -स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरूबीच भएका झपडका घटनाहरू बढेका छन् । दुई सातायता भएका हिंसात्मक घटनामा राजनीतिक दलका नेताहरुको संलग्नता देखिएको हो । प्रहरी प्रधानकार्यालयका अनुसार दुई सातायता डेढ सयभन्दा बढी कुटपिट र विवादका घटना भएका छन् ।

मंगलबारमात्र तनहुँ, दार्चुला, स्याङ्जा र प्युठानमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भए । ३० वैशाखमा स्थानीय तह निर्वाचन हुँदै छ । तर, राजनीतिक दलका कार्यकर्ताहरुबीच भने झडपका घटना बढेका छन् । मंगलबार तनहुँको भिमादमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सात घाइते भए ।

मंगलबार साँझ दार्चुलाको दुहु गाउँपालिका ५ का एमालेका वडा अध्यक्ष पदका उम्मेदवार मानसिंह बडालमाथि कुटपिट भयो । सत्तरुढ गठबन्धनका कार्यकर्ताको कुटपिटबाट घाइते उनको जिल्ला अस्पताल दार्चुलामा उपचार गरेपछि थप उपचारका लागि राति नै धनगढी पठाइएको थियो । सो घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था भने सामान्य रहेको छ ।

प्युठानको नौबहिनी गाउँपालिका–८ फोप्लीमा मंगलबार नै एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।
सोमबार महोत्तरी, मकवानपुर, गुल्मी, रुकुमपश्चिम, रुपन्देही, दैलेख, बैतडीसहित जिल्लामा झडपका घटना भए । महोत्तरीको रामगोपालपुर– ७ मा एमाले र माओवादी कार्यकर्ताबीच झडप भएको थियो भने मकवानपुरको बकैया गाउँपालिका–७ मा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप हुँदा दुईजजना घाइते भएका थिए ।

गुल्मीमा कांग्रेस र माओवादी कार्यकर्ताबीच सोमबार कुटाकुट भयो । झपडमा परेर माओवादीका गाउँपालिका कमिटीका अध्यक्ष लिलबहादुर केसी घाइते भए ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिका– १० मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार चक्र कुमारीले प्रचारमा प्रयोग गरेका मोटरसाइकल माओवादी कार्यकर्ताले तोडफोड र आगजनी गरेपछि दुवै पक्षबीच झडपको अवस्था सृजना भयो । पछिल्ला केही दिनयता रुकुमपश्चिममा दैनिकजसो विवाद र झडप भइरहेका छन् ।

यस्तै सोमबार नै रुपन्देहीको बुटवलमा वडा नम्बर १२ का अध्यक्ष उम्मेदवार देवीप्रसाद रेग्मीको बा.२०च ६७८५ नम्बरको गाडीमा आक्रमण भयो । दैलेखको आठबिस नगरपालिका–४ मा एमालेका उम्मेदवारले चुनावी प्रचारका लागि प्रयोग गरेको बा.१९च ५५७९ नम्बरको गाडीमा आगजनी भयो ।

बैतडी डिलासैनी गाउँपालिकाको अध्यक्षको उम्मेदवार रहेका माओवादीका लोकेन्द्र राना कुटपिट गरेको आरोपमा पक्राउ परे । चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबीच झडप भएका हुन् । उम्मेदवार चयनदेखि प्रचारप्रसारका विषयमा विवाद हुँदा कुटपिट, विवाद र झडपका घटना भएका हुन् ।

निर्वाचनमा सहभागी भएका दलहरुबीचकै झडपको अवस्थाले प्रहरीलाई चुनौती थपेको छ । यसअघिका निर्वाचनमा भूमिगत समूहबाट सुरक्षा चुनौैती रहेको निष्कर्षसहित रणनीति तय गरेको प्रहरी यसपटक निर्वाचनमै सहभागी झडप नियन्त्रणमा खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर