मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था — OSNepal

मतगणनास्थलको तयारी पूरा, सिसी क्यामेरासहित तारजालीको व्यवस्था

LC (KTM) May 11, 2022 0

गलकोट, २८ वैशाख -सुरक्षित तरिकाले मतगणना गर्नका लागि बागलुङका मतगणनास्थलमा तयारी गरिएको छ । बागलुङका १० वटै पालिकामा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल निर्माण गरी तयारी अवस्थामा राखिएको जनाएका छन् । बागलुङका १० वटै मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । ३० गते हुने स्थानीयतहको निर्वाचनको मतदानपछि पालिकाले मतगणनाका लागि स्थलको तयारी पूरा गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार जिल्लाका १० वटै मतगणनास्थल मत गणनाका लागि सुरक्षित बनाइएको छ । बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको मतगणनाका लागि सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरेर मतगणना गर्ने तयारी अनुसार मतगणनास्थल तयार पारिएको छ ।मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार बागलुङ नगरपालिकाको मतगणना जिल्ला समन्वय समितिको सभाहलमा गर्नका लागि मतगणनास्थल तयार गरिएको छ । सभाहलमा तारजाली लगाइएको छ भने सिसी क्यामेर जडान गरेर तयारी अवस्थामा राखिएको छ ।

यस्तै जैमिनी नगरपालिकाले नगरपालिकाको वडा नं १ को सभाहलमा मतगणनास्थलको तयारी गरेको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँले मतगणनास्थलमा सिसी क्यामेरा जडान र तारबारको व्यवस्था मिलाएको बताउनुभयो ।

यस्तै गलकोट नगरपालिकामा मतगणनाका लागि पुरानो गलकोट माध्यमिक विद्यालयको भवनमा मतगणनास्थल तयार पारिएको छ भने ढोरपाटन नगरपालिकाले बुर्तिबाङस्थित उत्तरगङ्गा माध्यामिक विद्यालयको भवनमा मतगणनाको तयारी गरेको छ । दुवै मतगणनास्थलमा सिसी क्यामेरासहित बलियो गरी तारबार लगाइएको छ । यस्तै तमानखोला गाउँपालिकामा मतगणनाको लागि स्थलको तयारी पूरा गरिएको छ । सुरक्षित तरिकाले मतगणना गर्नका लागि तारजालीसहित सिसी क्यामेराको व्यवस्था मतगणनास्थलमा गरिएको तमानखोला गाउँपालिकाका निर्वाचन अधिकृत लालप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

यस्तै निसीखोला गाउँपालिकाको सभाहलमा मतगणनास्थल निर्माण गरिएको निसिखोला गाउँपालिकाका निर्वाचन अधिकृत गोविन्द गिरीले जानकारी दिनुभयो । उक्त मतगणनास्थलमा सिसी क्यामेरासहित तारजालीको व्यवस्थापन गरिएको हो । जिल्लाको बडिगाड गाउँपालिकास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थलको तयारी पूरा गरेको छ, भने ताराखोला गाउँपालिकाको केन्द्र भातखाने डाँडामा मतगणनास्थल तयार पारिएको हो । सबैमा सिसी क्यामेरा र तारजाली अनिवार्य गरिएको छ भने अन्य सुरक्षा मतगणनास्थलको अवस्था अनुसार हुनेछ ।

यस्तै काठेखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले भीमसेन माध्यमिक विद्यालयको भवनमा सिसी क्यामेरा र तारबारसहित मतगणनास्थल तयार गरेको काठेखोला गाउँपालिकाका निर्वाचन अधिकृत हर्कबहादुर केसीले जानकारी दिनुभयो । “निर्वाचन अधिकृतको कार्यालय सानो भएकाले नजिकै रहेको विद्यालयमा मतगणनाको व्यवस्थापन मिलाएका छौँ” केसीले भन्नुभयो “आयोगको निर्देशन अनुसार सिसी क्यामेरा र सुरक्षाका लागि तारजाली लगाइएको हो, मतगणनास्थलको तयारी पूरा भएको छ, अब हाम्रो ध्यान निर्वाचनमा जान्छ ।”

यस्तै जिल्लाको बरेङ गाउँपालिकाले मतगणनास्थलमा हुनसक्ने घटनालाई मध्यनजर गर्दै सिसी क्यामेरासहितको मतगणनास्थलको तयारी गरिएको बरेङ गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनमा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्न र रोक्न सुरक्षित तरिका अपनाइएको हो । निर्वाचन आयोगले सिसी क्यामेरा जडान गरेर मतगणना गर्न भनेपछि सबै निर्वाचन कार्यालयले स्थानीय पालिकाको व्यवस्थापनमा सिसी क्यामेरा र तारजाली लगाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर