रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा — OSNepal

रसुवामा निर्वाचनको सम्पूर्ण तयारी पूरा

LC (KTM) May 12, 2022 0

रसुवा, २९ वैशाख -शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सम्पूर्ण तयारी पूरा भएको छ । मतदानका लागि आवश्यक तयारी पूरा भएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ ।

जिल्लामा मतदान केन्द्रमा कर्मचारी खटाउने, निर्वाचन सामग्री मतदान केन्द्रहरूमा पुर्‍याउने, सुरक्षाकर्मी खटाउने र मतदान केन्द्रको निर्माण गर्ने लगायतका सबै काम सकिएको छ ।

मतदान गर्नका लागि ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्रको निर्माण सकिएको छ । यसपटक वर्षाको सम्भावना भएकाले प्रत्येक मतदान केन्द्रमा त्रिपालको व्यवस्था गरिएको छ ।

मतदान केन्द्रको निर्माण सकिएको र केही काम मात्र बाँकी रहेको आमाछोदिङ्मो गाउँपालिका–४ स्थित पार्वतीकुण्ड मावि स्रोत केन्द्रका मतदान अधिकृत सिता गुरुङले बताइन् ।

निर्वाचनको सबै तयारी सकिएको र बिहान ७ बजेबाट मतदान सुरु गरिने आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङस्थित पार्वतीकुण्ड प्रावि मतदान केन्द्रका सहायक मतदान अधिकृत दीपरमण अधिकारीले बताए ।

मतदाताहरुको सजिलोको लागि महिला पुरुष छुट्टाछुट्टै रहने लाइन निर्माण, ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू छिटो मतदान गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

निर्वाचनमा खटिएका कर्मचारीले सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया अघि बढाएका छन् । बैठकमा मौन अवधिमा पालना गर्नुपर्ने नियम, आचारसंहिता, उम्मेदवारका प्रतिनिधि, अशक्त तथा अपाङ्गता भएका व्यक्तिले मतदान गर्न सहज बनाउने लगायत विभिन्न विषयमा छलफल भएको छ ।

यसैगरी नयाँ मतदाताहरूलाई परिचयपत्र वितरण गर्ने काम पनि भइरहेको छ । निर्वाचनमा २ सय ९४ जना नेपाल प्रहरी, २१९ सशस्त्र प्रहरी र २८८ म्यादी गरी ८ सय १ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताए । ‘हामीले मतदान प्रक्रियालाई स्वच्छ, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था कडा पारेका छौं’, उनले भने, ‘मतदाताले ढुक्क भएर मतदान गर्न पाउँछन् ।’

जिल्लामा निर्वाचनको लागि २ सय ५५ कर्मचारी खटिएका छन् । जिल्लामा ३८ हजार ५ सय ४५ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर