कैलालीमा निर्वाचनको सबै तयारी पुरा, ७७ प्रमुख र ६७ उपप्रमुखबीच प्रतिस्पर्धा — OSNepal

कैलालीमा निर्वाचनको सबै तयारी पुरा, ७७ प्रमुख र ६७ उपप्रमुखबीच प्रतिस्पर्धा

LC (KTM) May 12, 2022 0

धनगढी, २९ वैशाख-शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि कैलालीमा सबै तयारी पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने छ ।

कैलालीमा २ लाख ५६ हजार १ सय ४ जना पुरुष, २ लाख ६९ हजार १० जना महिला र ११ जना अन्य गरी जम्मा ५ लाख २५ हजार १ सय २५ जना मतदाता रहेका छन् । कैलालीमा स्थानीय तहको निर्वाचनका लागि ३२ हजार ५ सय ९५ पुरुष र ३१ हजार ९ सय ४९ महिला तथा अन्य ३ जना गरी ६४ हजार ५ सय ४७ जना नयाँ मतदाता थपिएका थिए ।

निर्वाचन कार्यालयका अनुसार जिल्लाका १३ वटै पालिकाका लागि २ सय ३६ मतदानस्थल तोकिएका छन्, भने ६ सय १९ मतदान केन्द्र राखिएका छन् । ती केन्द्रमा ३ हजार ९४ कर्मचारी खटाइएका जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए । खटाइएका कर्मचारी मध्य दुई प्रतिशत कर्मचारी भने जगेडामा छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार कैलालीका १३ पालिका स्थित १३ प्रमुख पदका लागि १२ स्वतन्त्र सहित ७७ जनाले उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिकामा १ स्वतन्त्र सहित ८ जनाले मेयर पदका लागि उम्मेदवारी दिएका छन् । यसैगरी गोदावरीमा २ स्वतन्त्र सहित ९ जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

जिल्लाको गौरिगंगा नगरपालिकामा १ स्वतन्त्रसहित ५, घोडाघोडी नगरपालिकामा १ स्वतन्त्र सहित ८ जना, टिकापुर नगरपालिकामा २ स्वतन्त्र सहित १० जना, भजनी नगरपालिकामा ६ जना र लम्कीचुहा नगरपालिकामा ३ स्वतन्त्र सहित १० जनाले मेयर पदमा उम्मेदवारी दिएका छन् ।

यसैगरी कैलारी गाउँपालिकामा ६, चुरे गाउँपालिकामा ३, जानकी गाउँपालिकामा १ स्वतन्त्र सहित ८, जोशीपुर गाउँपालिकामा ६, बर्दगोरिया गाउँपालिकामा ६ र मोहन्याल गाउँपालिकामा १ स्वतन्त्र सहित ५ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।

कैलालीमा ५ स्वतन्त्र सहित ६७ जनाले उम प्रमुख पदमा उम्मेदवारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उपमहानगरपालिकामा १ स्वतन्त्र सहित ६ जना, गोदावरी नगरपालिकाको उप मेयरमा ५ जना, गौरिगंगा नगरपालिकामा ४ जना, घोडाघोडीको उप प्रमुखमा १ स्वतन्त्र सहित ६ जना, टिकापुर नगरपालिकाको उप मेयरमा १ स्वतन्त्र सहित १० जना, भजनी नगरपालिकाको उप मेयरमा ५ जना, लम्कीचुहा नगरपालिकाको उप मेयरमा १ स्वतन्त्र सहित ६ जनाले उम्मेदवारी दिएका छन् ।

यसैगरी कैलारी गाउँपालिकामा १ स्वतन्त्र सहित ७ जना, चुरे गाउँपालिकामा ४, जानकी गाउँपालिकामा ५ जना, जोशीपुर गाउँपालिकामा ६ जना, बर्दगोरिया गाउँपालिकामा ५ जना र मोहन्याल गाउँपालिकामा १ स्वतन्त्र सहित ४ जनाले उम्मेदवारी दिएका छन् । स्थानीय तहको निर्वाचनका लागि कैलालीका १३ पालिकामा जम्मा ३ हजार ७३ जनाको उम्मेदवारी परेको छ ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टका अनुसार निर्वाचनको सबै तयारी पुरा भएको छ । ‘सबै मतदान स्थलमा मतदान अधिकृत सहित निर्वाचन सामाग्री पुगिसकेको छ,’ उनले भने, ‘बिहानै देखि मतदानको कार्य सुरु हुने छ ।’

५२ मतदान स्थल अतिसंवेदनशीलको सूचिमा

कैलालीमा २ सय ३६ मध्य ५२ वटा मतदान स्थल सुरक्षाका दृष्टिले अति संवेदनशील स्थलको सूचिमा राखिएका छन् । ती मतदान स्थलहरूमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी गरी ४ वटा सुरक्षा निकायको टोलीले निगरानी गर्ने जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीका अनुसार जिल्लाका ५२ केन्द्रलाई अति संवेदनशील, १ सय ३१ वटालाई संवेदनशील र ५३ वटा मतदान स्थलहरू सामान्य केन्द्रमा रूपमा निर्धारण गरिएका छन् ।

प्रत्येक पालिकामा बाहिरी घेरामा ३५ जनको नेपाली सेनाको टोली रहने जोशीले बताए । प्रत्येक संवेदनशील निर्वाचन केन्द्रमा ३ जना म्यादी सहित ८ देखी ९ जना सुरक्षा कर्मी, अति संवेदनशील ठाउँमा ५ जना प्रहरी सहितको टोली र सामान्यमा २ जना प्रहरी र ४ जना म्यादी प्रहरीको टाली परिचालन गरिएको छ ।

त्यस्तै, सशस्त्र प्रहरीको हकमा डिएसपीको कमाण्डमा तिन ओटा मोबाइल टोली सहित प्रत्येक केन्द्रमा २७ जना खटाइने छन् । प्रत्येक नगरपालिकामा ५ देखी ३ जना सम्मको स्टकिङ्ग फोर्स राखिएको प्रहरी प्रवक्ता जोशीले बताए ।

‘हरेक क्षेत्रमा प्रहरी निरीक्षकको कमाण्डमा २ ओटा मोबाइल टोली र एउटा टकिंग फोर्स छ । कम्तीमा २ ओटा मोबाइल टोलीहरू प्रत्येक गाउँपालिका जान्छ,’ उनले भने, ‘त्यसबाहेक नेपाली सेना र सशस्त्रको टोलीले पनि सुरक्षा दिने छ ।’

यस्तै, जिल्लाभरि डिएसपीको कमाण्डमा ५ वटा टोली खटाइने छन् । सो टोलीमा १ सय ७५ जनाको संयुक्त सुरक्षा टोली हुने छ । सो टोली आवश्यकता अनुसार परिचालन गरिने र मुख्य निर्वाचन कार्यालयमा ५/५ जनाको टोली निर्वाचन अधिकृतको सुरक्षाको लागी खटाइएको जोशीले बताए ।

त्यस्तै, एसपीको कमाण्डमा १० जनको टिम अनुगमनको लागी तयार पारिएको छ । भने आवश्यक परे विशेष अधिकार सहित र सुरक्षाकर्मी सहितको टोली पनि उप–सचिव तथा अफिसरले नेतृत्व गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।

सुदूरपश्चिममा ११ सय ३५ मतदान स्थल

निर्वाचन आयोगका अनुसार सुदूरपश्चिममा मतदानका लागि ११ सय ३५ मतदान स्थल राखिएका छन् । ती मतदान स्थलमा २ हजार १ सय ३ ओटा मतदान केन्द्र रहेका छन् । सुदूरपश्चिमका ८ड वटै स्थानीय तहमा ८ लाख ८० हजार ६ सय ८२ जना पुरुष र ८ लाख ३१ हजार ४ सय ७० जना महिला तथा १८ जना अन्य गरी १६ लाख ३२ हजार १ सय ५२ मतदाता रहेका छन् ।

Avatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर