नुवाकोटमा ४६० जनप्रतिनिधि चुनिँदै — OSNepal

नुवाकोटमा ४६० जनप्रतिनिधि चुनिँदै

LC (KTM) May 13, 2022 0

नुवाकोट- स्थानीयतह निर्वाचन–२०७९ का लागि नुवाकोटको स्थानीयतहमा मतदान सुरु भएको छ । जिल्लामा रहेको दुई नगरपालिका र १० गाउँपालिकामा कायम रहेको १३२ मतदानस्थलका २८७ मतदान केन्द्रमार्फत मत दिने व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले जानकारी दिनुभयो । उहाँको अनुसार मतदाता परिचयपत्र नभएकालाई सरकारी कागजातको आधारमा समेत मत दिन पाउने निर्वाचन आयोगको निर्णयले मतदानमा सहभागी हुँदा परिचय खुल्ने सरकारी कागजात साथमा बोक्न आग्रह गरिएको छ ।

मतदानको लागि एउटा मतदान केन्द्रमा मतदान अधिकृत एकजना, सहायक मतदान अधिकृत एकजना, नायब सुब्बा वा खरिदारसरहको सहायक कर्मचारी दुई र एक सहायकस्तरको कर्मचारी गरेर कम्तीमा पाँच खटाइएको छ ।
ती मतदान केन्द्रमा करिब एक हजार ५०० कर्मचारी परिचालन गरिएको छ । मतदानस्थलमा मतदान केन्द्रको सङ्ख्या र सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मी खटाइएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालको अनुसार नेपाल प्रहरी र म्यादी प्रहरी गरेर न्यूनतम ११ देखि ३३ जनासम्म एउटा मतदानस्थलमा खटाइएको छ । जिल्लामा कायम रहेको १३२ मतदानस्थलमा २८७ मतदान केन्द्र कायम गरिएको छ । त्यसमध्ये सुरक्षाको दृष्टिकोणले २९ सामान्य, ५० संवेदनशील र ४३ अतिसंवेदनशील मतदानस्थल पहिचान गरेर सुरक्षा व्यवस्था सोहीअनुसार मिलाइएको छ ।

मतदानकेन्द्र र स्थलमा म्यादीलाई साथ लिएर प्रहरीले सुरक्षा दिनेछ भने त्योभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी बलले गस्तीमार्फत सुरक्षा दिने र त्योभन्दा बाहिरी घेरामा नेपाली सेनाले नियमितरुपमा गस्ती खटाइएको प्रमुख जिल्ला अधिकारी रिसालले जानकारी दिनुभयो ।

उहाँले अनुशासित, मर्यादित र जिम्मेवार भएर निर्वाचनलाई सफल बनाउन आग्रह गर्नुभयो । निर्वाचनमा निर्धक्क भएर आफूले चुन्ने उम्मेदवारलाई मत दिन जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले आग्रह गर्नुभयो । उहाँको अनुसार जिल्लामा मतदानको दुई लाख ३७ हजार ४३४ मतदाता कायम छन् । सबैभन्दा बढी विदुर नगरपालिकामा ४४ हजार १७९ मतदाता छ भने सबैभन्दा कम किस्पाङ गाउँपालिकामा १२ हजार १६१ मतदाता रहेको सम्बन्धित पालिकामा स्थापना भएको निर्वाचन अधिकृतको कार्यायले जनाएको छ ।

मतदानमार्फत जिल्लामा कायम रहेको १२ स्थानीयहबाट एक÷एक जना प्रमुख र उपप्रमुख, ८८ वडाबाट एक÷एक जना वडाध्यक्ष, त्यति नै सङ्ख्यामा महिला वडासदस्य र महिला दलित सदस्य तथा १७६ वडा खुला सदस्य चयन गर्न लागिएको छ ।

ती मध्ये बेलकोटगढी नगरपालिका वडा नं १ र म्यागङ गाउँपालिका वडा नं ६ मा एक÷एकजना गरेर यसअघि दुई जना दलित महिला वडासदस्य पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । यस्तै, दुप्चेश्वर गाउँपालिका–१ र तार्केश्वर गाउँपालिका–६ मा दलित महिला वडासदस्य पदमा उम्मेदवार नपरेपछि रिक्त छ ।

जिल्लामा ४६४ पदमध्ये ४६० पदको लागि दुई हजार एक जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर