कास्कीका सबै निर्वाचन केन्द्रमा मतदान सुरु — OSNepal

कास्कीका सबै निर्वाचन केन्द्रमा मतदान सुरु

LC (KTM) May 13, 2022 0

कास्की- स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीका सबै निर्वाचन केन्द्रमा मतदान सुरु भएको छ । मतदानका लागि बिहान सबेरैदेखि मतदाता लामबद्ध भएको र ७ बजेदेखि मतदान सुरु भएको निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।

कास्कीमा भौगोलिक हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाको प्रमुख उपप्रमुख, वडाध्यक्ष तथा सदस्य एवं चारवटा गाउँपालिका माछापुच्छ«े, मादी, रुपा र अन्नपूर्णमा अध्यक्ष, उपाध्यक्ष एवं वडाध्यक्ष र सदस्य चयन गर्नका लागि भएको मतदानका लागि ३३६ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन कार्यालय कास्कीका प्रमुख होमनाथ पराजुलीले जानकारी दिनुभयो ।

यस निर्वाचनमा पोखरा महानगरपालिकामा दुई लाख सात हजार ७१२ मतदाता छन् भने अन्नपूर्ण गाउँपालिकामा २० हजार ३४८ मतदाता छन् । त्यस्तै माछापुच्छ«े गाउँपालिकामा २० हजार ३१६, मादी गाउँपालिकामा १८ हजार ७८२ र रुपामा १४ हजार ६७५ मतदाता रहेका छन् ।

आजको निर्वाचनमा पोखरा महानगरमा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार धनराज आचार्यले भरतपोखरीस्थित शान्ति उदय मावि र उपप्रमुखका उम्मेदवार कोपिला रानाभाटले विजयपुरस्थित भवानी कालिका मावि, नेकपा एमालेका तर्फबाट प्रमुख पदका उम्मेदवार कृष्ण थापाले बाटुलेचौरस्थित विन्दुवासिनी मावि र उपप्रमुखका उम्मेदवार मञ्जुदेवी गुरुङले सिर्जनाचोकस्थित राम आधारभुत विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुहुने छ ।

त्यस्तै अटेरी अभियानका तर्फबाट महानगरको प्रमुख पदका उम्मेदवार गनेश पौडेलले मझेरीपाटनस्थित रामेश्वरी मावि मतदान केन्द्रबाट मतदान गर्नुहुने जनाइएको छ । मतदानका लागि सबै केन्द्रमा मतदाता उत्साहितरुपमा लामबद्ध बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर