लुम्बिनीका शीर्ष नेताहरुले गरे मतदान, (फोटो फिचर) — OSNepal

लुम्बिनीका शीर्ष नेताहरुले गरे मतदान, (फोटो फिचर)

LC (KTM) May 13, 2022 0

बुटवल, ३० वैशाख -लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले शुक्रबार आ–आफ्नो गृहजिल्लाबाट मतदान गरेका छन् । विगत केही दिनदेखि गृहजिल्लामा खटिएका नेताहरुले आफ्नो मतदाता रहेको मतदानस्थलमा मतदान गरेका हुन् । रुपन्देही गृहजिल्ला भएका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले बिहान ७ बजे रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर ८ को सडक डिभिजन कार्यालयको मतदान स्थलमा मतदान गरेका छन् ।

त्यस्तै, गृहमन्त्री तथा काँग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँणले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ को ज्योति आधारभूत स्कूलमा पहिलो मतदान गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री घनश्याम भुसालले रुपन्देहीकै तिलोत्तमा नगरपालिका वडा नम्बर ९ को विश्वशान्ति आधारभुत स्कूलको मतदान स्थलबाट मतदान गरेका छन् ।

एमाले महासचिव तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को जनता विद्यापीठ मावि विजौरीमा मतदान गरेका छन् । एमाले उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले गुल्मीको रुरु गाउँपालिका वडा नम्बर ४ बलेटक्सारको ज्ञवा माविबाट मतदान गरेको एमाले गुल्मीले जनाएको छ ।

त्यस्तै, एमाले सचिव गोकर्ण विष्टले गुल्मीकै इस्मा गाउँपालिका वडा नम्बर ४ रामराज्य माविबाट मतदान गरेका छन् । एमाले सचिव छविलाल विश्वकर्माले रुपन्देहीको बुटवल ११ को लुम्बिनी वाणिज्य क्याम्पसको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

त्यस्तै, एमालेका अर्का सचिव टोपबहादुर रायमाझीले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा ९ को अर्घा रजस्थल माविबाट मतदान गरेका छन् । कांग्रेसका युवा नेता चन्द्र भण्डारीले गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुंगाको जनजागृति माविमा मतदान गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर