दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले गरे मतदान — OSNepal

दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले गरे मतदान

LC (KTM) May 13, 2022 0

दाङ- स्थानीय तह निर्वाचनमा दाङमा राजनीतिक दलका शीर्ष नेताहरुले आज बिहान आ–आफ्ना मतदान केन्द्रमा मतदान गर्नुभएको छ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले तुलसीपुर उपमहानगरपालिका–ं१९ स्थित जनता विद्यापीठ बिजौरीस्थित मतदान केन्द्रमा बिहान मतदान गर्नुभएको हो । त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले ंदङ्गीशरण गाउँपालिका–४ स्थित रात्रि मावि बैबाङ मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।

त्यस्तै नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रेखा शर्माले घोराही उपमहानगरपालिका–१८ स्थित आधारभूत विद्यालय मसिनाबाट मतदान केन्द्रमा र सोही पार्टीका अर्का केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले तुलसीपुर–१२ को पशुपति मावि हरिपौराबाट मतदान गर्नुभएको छ ।

प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसीले तुलसीपुरको बोर्डिङमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । लुम्बिनी प्रदेशका ग्रामीण तथा पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुर–६ को सेन्टर माविस्थित मतदान केन्द्रमा गर्नुभयो । त्यस्तै संविधानसभा सदस्य अनारकली मियाँले तुलसीपुर–५ को तुलसी बोर्डिङ स्कुलको मतदान केन्द्रमा मतदान गर्नुभएको छ । सोही मतदान केन्द्रबाट एमाले तुलसीपुर उपमहानरका उपप्रमुख उम्मेदवार स्यानी चौधरी, विप्लव निकट नेकपाबाट उपप्रमुखका स्वतन्त्र उम्मेदवार खेमराज वलीलगायतले पनि मतदान गर्नुभएको छ ।

एमालेका उपाध्यक्ष युवराज ज्ञवालीको वडामा भने आज मतदान हुन सकेन । वडा सदस्यका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि त्यहाँ आज हुने मतदान जेठ ३ गते मात्रै हुनेछ । ज्ञवालीको तुलसीपुर–१७ दीपेन्द्र मावी मानपुरमा मतदान केन्द्र छ ।

शारीरिक रूपमा अशक्त र अपाङ्गता भएका व्यक्तिका साथै किरिया बसेकाले पनि मतदान गर्न आएका छन् । तुलसीपुर–५ बसपार्क घर भएकी पाँच दिनदेखि किरियापुत्री बसेकी २५ वर्षीया सुनिता विकले तुलसी बोर्डिङ स्कुलको ‘च’ मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । १५३ मतदानस्थल ४६१ मतदान केन्द्र रहेको दाङमा चार लाख नौ हजार ९०२ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर