मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो — OSNepal

मनाङमा मध्यह्नसम्म ६० प्रतिशत मत खस्यो

LC (KTM) May 13, 2022 0

मनाङ- स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ । जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने काम भइरहेको जानकारी दिनुभयो । जिल्लाका २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उहाँले बताउनुभयो ।

सदरमुकाम चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको शर्माले बताउनुभयो । निर्वाचनबाट मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन् । केही पालिकाका वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसमेत सर्वसम्मत निर्वाचित भइसकेका छन् । चार गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी आठ जना निर्वाचित हुनेछन् ।

त्यस्तै २८ वडाबाट एक÷एक अध्यक्ष र चार सदस्य गरी १४० जना निर्वाचित हुनेछन् । मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालका अनुसार जिल्लामा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको हो । “शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ, १ बजेसम्म तीन हजार ८७३ मत खस्यो,” उहाँले भन्नुभयो ।

जिल्लाका चार वटै पालिकामा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका मतगणना आजै साँझदेखि मतगणना हुनेछ । मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै गतगणना सुरु हुने शर्माले बताउनुभयो ।

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच÷पाँचवटा मतदान केन्द्र कायम छ । मनाङमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर