नेपाली अमेरिकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जर्सी सिटी शहरको महिला सल्लाहकार समितिमा मनोनित — OSNepal

नेपाली अमेरिकी सामाजिक अभियन्ता डा. विष्णुमाया परियार जर्सी सिटी शहरको महिला सल्लाहकार समितिमा मनोनित

LC (KTM) May 13, 2022 0

नेपाली अमेरिकी सुपरिचित सामाजिक अभियन्ता डा. विष्णुमाया परियार न्यू जर्सी राज्यको जर्सी सिटी शहरको महिला सल्लाहकार समितिमा मनोनित भएकि छिन्।जर्सी सिटी शहरको नगर प्रमुख (मेयर )स्टिभन फुलपको विविधता तथा समावेशी (डाईभर्सिटी र ईन्क्लुसिव) संचालक समितकि पूर्व सल्लाहकार रही सकेकी डा. परियार जर्सी सिटी शहरकै रोजगारी र तालिम कमिटीको सदस्यमा पनि हुन्।

जर्सी सिटी शहरको महिला आयोगको गठन गत जनवरी २६ मा परिषद सभापती जोयस वाटरम्यानको नेतृत्व र डा. परियारको पहलमा गठन भएको हो।जर्सी सिटी शहरको नेपालको लागि भगिनी सम्बन्ध (सिस्टर सिटी)को लागि ईमिसरी (विशेषदूत) डा. परियारको पहलमा सन् २०१९ मा जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बिच भगिनी सम्बन्ध (सिस्टर सिटी )कायम गरिएको थियो भने सन् २०१७ मा उनकै नेतृत्वमा जर्सी शहर नगर भवनमा नेपालको झण्डा फहराईएको थियो।

डा. परियारको जीवन कहानी विश्वव्यापी कलेज (महा बिद्यालय)पाठ्यपुस्तकमा प्रकाशित छ। विश्वविद्यालय र माध्यमिक बिद्यालयका विद्यार्थीहरूको पाठ्यपुस्तक प्रकाशनमा विश्वमै अग्रणी मानिने अमेरिकी प्रकाशक म्याकग्रो हिलले डा. लिसा राईट होफ्नरद्वारा लिखित ‘दि राईटर्स माईण्डसेट’ पुस्तकमा डा. परियारको जीवन संघर्षको कहानी प्रकाशन गरेको छ। उक्त पुस्तकको ६९२ पृष्ठ मध्ये डा. परियारको कहानी पृष्ठ ५९१-५९४ बिच चार पृष्ठहरूमा समावेश गरिएको छ। यसरी नेपाली व्यक्तित्वको कहानी विश्व प्रसिद्ध पाठ्यपुस्तकमा प्रकाशित भएको ईतिहासमै पहिलो पटक हो।

उनको यो पाठ्यपुस्तकमा समावेश कथा यस अघि अमेरिकी संघीय सरकारको पिस कोरले आफ्नो आधिकारिक संजालस्थल (वेबसाइट)मा प्रकाशन गरेको थियो।विश्वमै अग्रणी मानिने म्याकग्रो हिल पब्लिकेसन(प्रकाशन)को पाठ्यपुस्तकहरू अमेरिकामा मात्र हैन विश्वको १००+ (सय बढी) मुलुकहरूका माध्यमिक बिद्यालय , महा बिद्यालय र विश्वविद्यालयहरूमा पढाईन्छ। सन् २०२० को तथ्यांक अनुसार हाल यो प्रकाशकको ४३ लाख बढी सशुल्क पाठ्यपुस्तक किन्ने विद्यालय, विश्वविद्यालय, विद्यार्थीहरू र प्राध्यापकहरू छन् भने यसका ११ सयभन्दा बढी शिक्षण संस्थानहरू विशेष प्रयोगकर्ता छन्। यो प्रकाशकको ५ हजार ८ सयभन्दा बढी कर्मचारी छन्।

यस अघि, जर्सी सिटी शहरद्वारा सन् २०१५ र २०१८ मा परिषद सभापति रोलाण्डो लाभारोको सवल नेतृत्व र डा. परियारको तत्परतामा अमेरिकामा रहेका नेपालीहरुको लागि अस्थायी सुरक्षा दर्जा (टिपिएस )परिषद प्रस्ताव पारित गरिएको थियो। अस्थायी सुरक्षा दर्जा पारित गर्ने जर्सी सिटी शहर एक मात्र अमेरिकी शहर हो ।त्यसैगरी, डा. परियारकै पहलमा नेपाल र नेपालीको सम्मानको लागि जर्सी सिटी नगर प्रमुख स्टेभन फुलपद्वारा सन् २०१७ को जुन ३० तारिख अमेरिकि भूमिमा नेपाली झण्डा फहराउने ऐतिहासिक नेपाली झण्डोत्तोलन समारोह सम्पन्न भएको थियो । नगर भवन भित्र नेपालको झण्डा फहराउने जर्सी सिटी शहर पहिलो अमेरिकि शहर हो र विश्वमै सम्भवत: पहिलो घटना हो।

राष्ट्रीय र अन्तर्राष्ट्रीय ४० बढी पुरस्कारहरूबाट सम्मानित डा. विष्णुमाया परियारलाई सन् २०१५ मा उनले समाजमा पुर्याएको योगदानको कदर गर्दै अमेरिकाको केन्टुकी राज्यको लुईभिल शहरका नगर प्रमुख ग्रेग ई फिसरले प्रोक्लेमेसन (सम्मान )पत्रद्वारा सेप्टेम्बर २७ तारिखलाई “डा. विष्णुमाया परियार डे” घोषणा गरिएको छ । यसरी जिवित नेपाली व्यक्तित्वको नाममा दिवस (डे) घोषणा गरेर विदेशी भूमिमा सम्मान गरिएको यो पहिलो ऐतिहासिक दिन हो ।डा. परियार हाल अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर स्थित केयरपोईन्ट हेल्थ अन्तर्गत हड्सन स्पिककि वरिष्ठ कार्यक्रम संयोजकको रूपमा कार्यरत छिन्। हड्सन स्पिक न्यू जर्सी राज्यको हड्सन काउण्टीमा यौन हिंशा विरूद्ध गैरसरकारी र सरकारी सहकार्यमा आकस्मिक सहायता प्रदान गर्ने मुख्य संस्था हो।

डा. विष्णुमाया परियारको संस्था एड्वानले स्थापनाकाल सन् १९९८ देखि हालसम्म २३ हजार बढी बालबालिकाहरू र ५० हजार बढी तिनका परिवार र जनतालाई शिक्षा, स्वास्थ्य, आर्थिक सशक्तिकरण, दीगो कृषि, सामाजिक जागरण, संचेतना, कानूनी प्रशिक्षण लगायतका विविध क्षेत्रहरूमा योगदान पुर्याउँदै आएकोछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर