सिन्धुपाल्चोकमा ३ केन्द्रमा मतदान जारी, ३ सय १३ केन्द्रमा सम्पन्न — OSNepal

सिन्धुपाल्चोकमा ३ केन्द्रमा मतदान जारी, ३ सय १३ केन्द्रमा सम्पन्न

LC (KTM) May 13, 2022 0

सिन्धुपाल्चोक, ३० वैशाख-सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएका केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ ।

१२ स्थानीय तहमध्ये मेलम्ची नगरपालिकाको वडा नम्बर ९ ज्यामिरे, वडा नम्बर ५ सिन्धुकोट र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनको बाहेक अरू स्थानको मतदान सकिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

ती वडामा दिउँसो भएको विवादले दुई घण्टा मतदान रोकिएकोले लम्बिएको हो । अधिकांश मतपेटिकाहरू संकलन गर्दै आउने क्रम जारी रहेको छ । भौगोलिक अवस्थाका कारण राति अबेरसम्म पनि लाग्न सक्ने निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मतपेटिका संकलन पश्चात् सर्वदलीय बैठक बोलाएर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु हुने बताइएको छ । मतगणनाका लागि कर्मचारी र दलका प्रतिनिधिबीच दूरी कायम गराउन जालीको व्यवस्था गरिएको छ । मतगणनास्थलमा साउण्ड सिस्टमसहितको सिसिटिभी जडान गरिएको छ ।

जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा समेत सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए । मतगणनाको क्रममा कुनै अवरोध नआएमा बढीमा तीन दिन भित्र अन्तिम नतिजा आइसक्ने आकलन गरिएको छ ।

यसैबीच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९, ज्यामिरे स्वास्थ्य चौकी केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सामान्य विवाद हुँदा केही समय मतदान प्रभावित बनेको थियो । विवाद भए पनि नेपाल प्रहरीको इन्सक्पेटरको नेतृत्वमा निर्वाचन अधिकृत निमा घिमिरे सहित नेपाली सेना र सशस्त्र प्रहरी समेत परिचालन भएको थियो । केही बेर तनावग्रस्त बनेकोमा त्रासको बीच मतदान भयो ।

सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नम्बर ३ मा रहेको क्षमादेवी माध्यमिक विद्यालयमा झडप हुँदा ४ राउण्ड हवाई हायर भयो । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको मतदान केन्द्रमा मतदान १ घण्टा रोकिन पुग्यो ।

यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान केही समय प्रभावित बनेको थियो । मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै स्थानीय कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर