नवनिर्वाचित प्रमुखहरूलाई शिक्षा र संस्कारमा जोड सुझाव — OSNepal

नवनिर्वाचित प्रमुखहरूलाई शिक्षा र संस्कारमा जोड सुझाव

LC (KTM) May 21, 2022 0

जुम्ला ७ जेठ । यहाँका आठवटै स्थानीय तहका नवनिर्वाचित प्रमुखहरूलाई शिक्षा र संस्कारमा जोड सुझाव दिइएको छ । नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई शपथग्रहण गर्न शुक्रबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले बधाई दिँदै शिक्षा र संस्कारमा जोड दिन सुझाउनुभएको छ ।

प्रजिअ प्रसाईँले सभ्य समाज निर्माण गर्न शिक्षा र संस्कार महत्वपूर्ण कुरा भएको बताउनुभयो । उहाँले गुठीचौर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दानबहादुर बुढालाई युवाहरूलाई संस्कार सिकाउन, तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँलाई तातोपानी धारामा महिलालाई स्वतन्त्रपूर्वक नुहाउने वातावरण निर्माण गर्न सुझाव दिनुभयो ।

प्रसाईँले युवाहरूलाई शान्ति र मेलमिलापबाट हरेक काम सफल र सम्पन्न हुन्छन् बन्ने बुझाउन आवश्यक रहेको आग्रह गर्दै भन्नुभयो, “जुम्लाको शिक्षा अवस्था निकै खस्किँदो छ । चिट चोरेर पास हुने गलत प्रवृत्तिको विकास भएको पाइएकाले यसमा व्यापक सुधार ल्याउन सबै क्षेत्रको त्यत्तिकै भूमिका रहनुपर्दछ ।” यसको नेतृत्व भने चन्दननाथ नगरपालिकाका नवनिर्वाचित प्रमुखलाई गर्न उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै हिमा र सिंजा गाउँपालिकाका अध्यक्षहरूलाई सिंजा क्षेत्र प्रवेशद्वारको सडक स्तरोन्नति ध्यान दिन, कनकासुन्दरी गाउँपालिकाका अध्यक्षलाई कनकासुन्दरी मन्दिरसम्म बाह्य पर्यटक सहजै पुग्ने पुल तथा बाटो निर्माण गर्न, पातारासी तथा तिला गाउँपालिकाका अध्यक्षलाई बालविवाहमुक्त पालिका बनाउनतर्फ विशेष ध्यान दिन प्रसाईँले सुझाव दिनुभयो ।

चन्दननाथ नगरका नगरप्रमुख राजुसिंह कठायत, पातारासी, गुठीचौर, तातोपानी, तिला, हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष क्रमशः पूर्णसिंह बोहोरा, दानबहादुर बुढा, नन्दप्रसाद चौलागाईँ, मोतीलाल रोकाय, लक्ष्मण शाही, पूर्णप्रसाद धिताल र दामोदर आचार्यले आ–आफ्नो पालिकामा भएका बेथिति हटाउँदै शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधार र सरसफाइलगायतका क्षेत्रमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन अधिकृत एवं जिल्ला अदालत जुम्लाका न्यायाधीश जवाहरप्रसाद सिंहले नवनिर्वाचित प्रमुखहरूलाई बधाई दिँदै सबै पालिकाको निर्वाचन शान्त, भयमुक्त, मर्यादित, व्यवस्थित र धाँधलीरहित वातावरणमा सम्पन्न गर्न सघाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रजिअ, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख तथा कर्मचारीलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर