नीति तथा कार्यक्रममा प्रदेश नं १ को आकर्षण — OSNepal

नीति तथा कार्यक्रममा प्रदेश नं १ को आकर्षण

LC (KTM) May 24, 2022 0

विराटनगर, १० जेठ – राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९÷८० को सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्नुभयो ।
सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले जारी गर्नुभएको नीति तथा कार्यक्रममा प्रदेश नं १ को झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको सडक खण्डको निर्माण गर्ने कुराले यसक्षेत्रका जनता उत्साहित भएका छन् ।

सरकारको नीति तथा कार्यक्रममा हिमतालको जोखिम न्यून गर्न सङ्खुवासभा र सोलुखुम्बुका हिमतालमा रहेको पानीको सतह घटाइने, वैज्ञानिक आधारमा जिल्ला पुनरावलोकन गरी हिमाली र दुर्गम जिल्लामा खाद्यान्न र नुन ढुवानी गर्ने कार्य प्रभावकारी बनाइने भएकाले यस प्रदेशमा पनि हिमाली र दुर्गम क्षेत्र रहेकाले अधिक जनताले नीति तथा कार्यक्रमबाट लाभ लिने छन् ।

प्रदेश नं १ को ताप्लेजुङदेखि सुदुरपश्चिम प्रदेश दार्चुलासम्मको ग्रेट हिमालयन ट्रेलको स्तरोन्नतिलाई प्राथमिकता दिइने, झापाको चन्द्रगढी र विराटनगर विमानस्थलमा सुविधाजनक टर्मिनल निर्माण गर्ने कार्य सुरु गर्ने, मधेस प्रदेशको सप्तरीको गोविन्दपुर छिन्नमस्ता हुँदै प्रदेश नं १ को उदयपुरको गाईघाटसम्मको सडक निर्माण कार्यलाई प्राथमिकता दिने, विराटनगर सुक्खा बन्दरगाहसम्म कार्गोरेल सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति भण्डारीबाट सम्बोधित नीति तथा कार्यक्रममा प्रदेश नं १ को कोसी नदी बृहत् जलाधार क्षेत्रको संरक्षण तथा व्यवस्थापन गरिने छ र प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रशिक्षण सुविधासहितको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने कुराले यस क्षेत्रका खेलप्रेमी तथा खेलाडी पनि निकै उत्साहित एवं प्रफुलित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर