सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिइने — OSNepal

सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिइने

LC (KTM) May 25, 2022 0

काठमाडौँ-सरकारले सडक बालबालिकामुक्त नेपाल अभियानलाई निरन्तरता दिने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा उक्त घोषणा गर्दै बालबालिकाको हक अधिकार सुनिश्चित गर्दै आधारभूत स्वास्थ्य, शिक्षा र पोषणमा सबैको पहुँच अभिवृद्धि गरिने उल्लेख छ ।

हिंसामा परेका, विशेष संरक्षणको आवश्यकता रहेका तथा अनाथ बालबालिकाको संरक्षणका लागि प्रदेश तथा स्थानीय तहसँगको साझेदारी, सहयोग र समन्वयमा बालबालिका पुनःस्थापना केन्द्र सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । बाल न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै बालसुधार गृह निर्माण तथा मौजुदा बालसुधार गृहको भौतिक पूर्वाधार सुदृढ गर्ने सरकारको तयारी छ ।

ज्येष्ठ नागरिकका लागि विशिष्टीकृत स्वास्थ्य सेवा सुनिश्चित गरिनेछ भने जनस्वास्थ्यका कार्यक्रममार्फत रोगको रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाइने उल्लेख छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण गरिनेछ भने ज्येष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । अपाङ्गता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा, प्रविधि र सीपमा पहुँच वृद्धि गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर