जित हार लाई मतगणना सकिए संगै सकिदिन समर्थकहरु लाई बालेनको अपिल — OSNepal

जित हार लाई मतगणना सकिए संगै सकिदिन समर्थकहरु लाई बालेनको अपिल

LC (KTM) May 25, 2022 0

आफ्नो जित निश्चित भए संगै काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह बालेनले मतदानमा सरिक भएर आफुलाई बिश्वासको योग्य ठानेर मत हालिदिएकोमा सबैलाई धन्यबाद ज्ञापन गरेका छन् । उनले काठमाण्डौमा आएको निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न आफ्ना शुभचिन्तक तथा समर्थकहरु संग अपील गरेका छन् । उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गर्दै बिजय उत्सव मनाउन बिभिन्न जिल्ला बाट काठमाण्डौ आउने तयारी भएको प्रति इंगित गर्दै आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र काठमाडौं नआउन अपील गरेका छन् ।

उनले ‘जित हारलाई मतगणना सकिएसँगै सकिदिन समेत आग्रह गरेका छन् । उनले आफ्नो घोषणापत्रमा उल्लेख भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउन पनि आग्रह गरेका छन् । अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगर्न आफ्ना समर्थकहरुलाई उनको अपिल रहेको छ । उनले लेखेका छन्– स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाण्डौँ महानगरको जिम्मेवारी बोक्न योग्य छौँ भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जीत वा हार हुदैन ।

जीत-हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौँ । यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । हाम्रो स्वयमको पनि बढिमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नु भएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनु पर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनु पर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाण्डौँ आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौँ । हाम्रो अनुरोध के हुन्छ भने तपाईहरु कोही पनि र्यालीका लागि काठमाण्डौँ आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौँ । अभियानको अहिलेसम्मको सफलताका लागि खुशीयाली प्रकट गर्ने नै हो भने पनि तपाई रहेकै क्षेत्रमा धन्यवाद र्याली गर्नु होला । त्यसले सो स्थानमा बढि प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । बालेनहरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परिक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ । हामीलाई साथ र सुझाब जति महत्वपुर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौँ भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सँधै तपाईहरुसँग जोडिरहेका हुन्छौँ । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौँ ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौँ । हरेक टोलटोल र गाउँगाउँमा ुबालेनुहरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।अबको हाम्रो पहिलो यात्रा काठमाडौको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडी बढौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर