असिना पानीले मकै र तरकारी बालीमा क्षति — OSNepal

असिना पानीले मकै र तरकारी बालीमा क्षति

LC (KTM) May 26, 2022 0

मुग्लिन, १२ जेठ -चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षति पु¥याएको छ । बुधबार आएको असिनापानीले वडा नं २ को मायाटार, दुम्कीलगायत गाउँका किसानले लगाएको बालीमा क्षति पु¥याएको हो ।बेच्ने बेला भएको तकारी बाली असिनापानीले कामै नलाग्ने गरी नष्ट गरेपछि किसानहरु चिन्तित भएका छन् । मायाटारका राजबहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार मूल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो ।

एकदिन अघि मात्र केही काँक्रो बेच्न भ्याउनुभएका प्रजाले धेरैजसो बाँकी रहेको काँक्रो असिनापानीले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो मात्र केही बेचेँ धेरैजसो काँक्रो बेच्न बाँकी नै थियो, सबै नष्ट भयो, बेच्ने बेला भएको काँक्रो, बोडी, सिमी र खुर्सानी गरी रु एक लाख ५० हजार बढी मूल्य बराबरको तरकारी बाली नष्ट भएको छ ।” कृषक प्रजाका अनुसार मायाटार र दुम्किम गाउँमा रहेका ४५ घरधुरीमध्ये २५ भन्दा बढी परिवारले तरकारी खेती गरेका छन् । तरकारी खेतीबाट जीवन निर्वाह गर्दै आएका किसान चिन्तित बनेका छन् । असिना पानीले मकै बाली पनि नष्ट गरेकाले चाँडै अनिकाल लाग्ने उहाँले बताउनुभयो ।
प्रजाले भन्नुभयो, “राम्रोसँग मकै खेती हँुदा छ महिनासम्म खान पुग्थ्यो तर यस पटक चाँडै अनिकाल लाग्ने भयो, घोगा लागेको धेरैजसो मकै नष्ट भएको छ, दुई महिनामै अनिकाल लाग्ने भएको छ । ”

गाउँपालिकाका कृषि शाखा प्रमुख आनन्दराज घिमिरेले अहिलेसम्म गाउँपालिकाभरका किसनाले लगाएको तरकारी र मकैबालीमा असिना पानीले कति क्षति पु¥यायो भन्ने एकीन तथ्याङ्क आइनसकेको बताउनुभयो । अहिले कहाँ कति क्षति भयो किसानसँग सम्पर्क गर्ने काम भइरहेको उहाँको भनाइ थियो । शाखाप्रमुख घिमिरेले गाउँपालिकाले बजेटको व्यवस्था गर्दा पनि किसानले तरकारी बालीको बीमा गर्न रुचि नदेखाउँदा समस्या भएको बताउनुभयो । तरकारी बालीका लागि प्रक्रिया झझन्टिलो हँुदा बीमा गर्न किसान र बीमा कम्पनीले नै चासो नदेखाएको उहाँले जानकारी दिनुभयो ।

शाखाप्रमुख घिमिरेले भन्नुभयो, “हामीले अभियान नै चलायौँ, गत वर्ष गाउँपालिकाले नै केही बजेटको व्यवस्था पनि गरेको थियो, बीमा गर्ने भनिएका सम्बन्धित बीमा कम्पनी नै आएनन् , तरकारी बालीको बीमा गर्न पशुमा जस्तो सजिलो छैन, त्यस कारणले किसान र बीमा कम्पनीले चासो नदेखाएका हुन ।” गाउँपालिकाका अधिकांश किसान तरकारी र मकैबालीमा निर्भर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर