मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत — OSNepal

मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड क्षतविक्षत

LC (KTM) May 26, 2022 0

गलकोट राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी लोकमार्गको घोडाबाँधे–गलकोट खण्ड अहिले क्षतविक्षत अवस्थामा रहेको छ । यस राजमार्गको सुरुमा उक्त खण्ड कालोपत्रे गरिएको थियो । राजमार्गअन्तर्गत बागलुङको घोडाबाँधेदेखि गलकोटको हटिया सडक कालोपत्रे भएको सात वर्ष बित्यो । अहिले उक्त खण्ड निकै जीर्ण बनेको हो । कमसल सामग्री प्रयोगका कारण अहिले सडकखण्डको विभिन्न स्थानमा कालोपत्रे उप्किएर यात्रा गर्न निकै समस्या भएको हो ।

वर्षामा आएको बाढी र पहिरोका कारण क्षतविक्षत भएको उक्त जीर्ण सडकखण्डमा अहिले यात्रुले सास्ती खेप्दै आएको गलकोट नगरपालिका–२ का वडाध्यक्ष हेमन्त भण्डारीले जानकारी दिनुभयो । “यात्रुले यो सडकखण्डमा निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन्, सरोकारवालाले अहिले चासो देखाएको बुझिएको छ”, उहाँले भन्नुभयो । घोडाबाँधे–गलकोट खण्डको २० किलोमिटर सडकको अधिकांश स्थानमा खाल्टाखुल्टी, बर्षायाममा सडकमाथिदेखि झरेको भलसहितको लेदो र पहिरोका कारण कालोपत्रे सडक जीर्ण बनेको छ । केही स्थानमा कालोपत्रे उप्किएर खाल्टा पर्दा पानी जमेको छ ।

कालोपत्रे सडक जीर्ण बनेपछि मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले मर्मतसम्भारका लागि चासो देखाएको छ । कालोपत्रे गरेको सडक सात बर्षपछि जीर्ण बनेर दुर्घटनाको जोखिम बोढेपछि सडक मर्मतका लागि आयोजना कार्यालयले ममंतसम्भारको प्रक्रिया अघि बढाएको हो । घोडाबाँधेदेखि गलकोट हटियासम्मको २० किलोमिटर सडक मर्मतका लागि प्रक्रिया अगाडि बढेको मध्यपहाडी लोकमार्ग कार्यालय पर्वतका कार्यालय प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो । उहाँले सडक मर्मतका लागि बोलपत्र आह्वान गरिसकेको बताउँदै ठेक्का प्रक्रियामा गएपछि मर्मत कार्य सुरु हुने बताउनुभयो । उहाँले २० किलोमिटर सडक मर्मतका लागि झण्डै रु २० करोड खर्च लाग्ने बताउनुभयो ।

“सडक मर्मतका लागि बोलपत्र आह्वान भएको छ, ठेक्का सम्झौतालगत्तै सडक मर्मतकार्य सुरु हुनेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार ठेक्का सम्झौता भएको दुई वर्षमा सडक मर्मत सक्ने समयसीमा हो । उक्त खण्डमा पहिरोका कारण कालोपत्रे मात्रै नभएर पूर्वाधारमा समेत क्षति भएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार कल्र्भट, पर्खाललगायतका पूर्वाधारमा ठूलो क्षति भएपछि अहिले उक्त सडक मर्मत गर्न थालिएको हो ।

उक्त सडक आर्थिक वर्ष २०७१÷७२ मा कालोपत्रे भएको थियो । कालोपत्रे सडक बिगँ्रदा सवारीसाधनसमेत मर्का परेको र धेरै सावरीसाधन बिग्रदै गएको सवारीचालक लोकबहादुर विकले गुनासो गर्नुभयो । उहाँले सडक कालोपत्रे बिग्रिएपछि कच्ची सडकझैं यात्रामा असहज भएको बताउनुभयो ।

अहिले मध्यपहाडी लोकमार्गको करिब २० किलोमिटरबाहेक अन्य सबै सडक कालोपत्रे भइसकेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड १४२ किलोमिटर दूरीको रहेको छ । अहिले जिल्ला सदरमुकाममा कालोपत्रेको काम भइरहेको छ । आगामी केही महिनामा लोकमार्गको सबै सडक कालोपत्र भइसक्ने र बिगर्दै गएको अन्य खण्डसमेत क्रमशः मर्मत गर्दै जाने मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर