जीवनको लागत बढेपछि भारतका सेवानिवृत्तहरू बचत झिक्छन्, थोरै खान्छन् – OSNepal

जीवनको लागत बढेपछि भारतका सेवानिवृत्तहरू बचत झिक्छन्, थोरै खान्छन्

LC (KTM) May 26, 2022 0

नयाँदिल्ली, १२ जेठ – दिल्लीे उच्च अदालतका ६६ वर्षीय वकिल टिएल वाली अवकाशको प्रतीक्षामा थिए । देशमा जीवनयापन लागत बढ्दै गएपछि उनी अब आफ्नो बचतमा निर्भर हुन बाध्य छन् । औषधि, घुमफिर र घरायसी खर्चको जोहो गर्न लामो समयसम्म उनले काम गरिरहनुपर्नेछ ।“म सेवानिवृत्त जीवनको बारेमा सोच्न पनि सक्दिन,” आफ्नो रकम झिक्न हुलाक बचत बैंक आएका उनले रोयटर्सलाई भने । उनले फलफूल, बाहिर खान र आफन्तलाई भेट्न छोडेका छन् । उनको अहिलेको आम्दानी कोभिड–१९ ले प्रहार गरेअघिकोभन्दा आधा कम छ । महामारी अघि जेनतेन गुजारा गरेका उनलाई अहिले कठिन भएको छ । बचतबाट प्राप्त हुने थोरै ब्याजले आकाशिदो महँगीमा उनले जीवनचक्र चलाउनु छ ।

आफ्नो उमेरका धेरैलाई जीवन जिउन सहज भए पनि मुद्रास्फीतिले उनी र लाखौं अन्य वृद्ध भारतीयहरूलाई कठिन विकल्प रोज्न बाध्य पारेको छ । महामारीका कारण विश्वव्यापी आपूर्तिमा उत्पन्न समस्यासँगै खाद्य र इन्धनमा तीव्र रूपमा बढेको मूल्यले विश्वभरका वृद्धहरूलाई मार परेको छ । अनि युक्रेन युद्धले उनीहरूका घाउमा नूनचुक थपेको छ । राज्यबाट प्राप्त हुने थोरै निवृत्तिभरणले अल्पसङ्ख्यक सेवानिवृत्तलाई उचित स्वास्थ्य सेवा वहन गर्न सघाएको छ । साठी वर्ष र त्यसभन्दा माथिको उमेरका करिब एक करोड ५० लाखमध्ये झण्डै १० प्रतिशत घरबारविहीन छन् । गत महिना विगत आठ वर्ष यताकै उच्च ७.७९ प्रतिशतले महँगी बढेको मुख्य समाचारले सञ्चारमाध्यममा प्राथमिकता पायो ।

उपभोक्ता मूल्य सूचकाङ्कको झण्डै आधा हिस्सा ओगटेको खाद्य वस्तुमा गहुँ, खाने तेल, तरकारी, फलफूल, मासु र चियाको मूल्य एक वर्षमा १० देखि २५ प्रतिशतले बढेको छ । खाना पकाउने ग्यास र पेट्रोलको मूल्य ४० प्रतिशतभन्दा बढीले बढ्दा कम आय भएकाहरूलाई नराम्ररी पिरोलेको छ । मुद्रास्फीतिले वृद्धवृद्धालाई सबैभन्दा ठूलो धक्का दिएको, ६० वर्ष वा सोभन्दा बढी उमेरका १३ करोड ८० लाखले बाँच्नका लागि पर्याप्त कमाउन काम गरिरहेका हेल्पएज इन्डिया च्यारिटीकी निर्देशक अनुपमा दत्त बताउँछिन् । धेरै सेवानिवृत्तहरू दशकौंअघि गरिएको बचतमा निर्भर भएका छन् । दैनिक उपभोग्य सामान खरिदका लागि आफ्ना बचत खाताबाट उनीहरूले धेरैभन्दा धेरै रकम निकालिरहेका छन् ।
यसैबीच, भारतको केन्द्रीय बैंकले उच्च मुद्रास्फीति कम्तिमा आगामी सेप्टेम्बरसम्म कायम रहने चेतावनी दिएको छ ।

भारतको समग्र बचत दर गत मार्चमा समाप्त भएको आर्थिक वर्षमा ३० प्रतिशतभन्दा तल झरेको अनुमान गरिएको छ, जुन महामारी अघि ३२ प्रतिशत भन्दा बढी थियो । अर्थशास्त्रीहरूले अर्को वर्ष पनि प्रवृत्तिमा परिवर्तन हुने आशा गरेका छैनन् । दीर्घकालीन निक्षेपको औसत ब्याजदर पनि विगत तीन वर्षमा ८.५ प्रतिशतबाट झरेर ६ प्रतिशत कायम भएको छ । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले वृद्धवृद्धाहरू विशेषगरी मुद्रास्फीतिको मारमा परेको स्वीकार गरेको छ । भाजपाका आर्थिक मामिला प्रवक्ता गोपाल कृष्ण अग्रवालले खाद्यान्न र स्वास्थ्य सेवा सहयोगसहित उनीहरूको सुरक्षाको लागि सक्दो प्रयत्न सरकारले गरिरहेको बताएका छन् ।महामारी राहत कार्यक्रमको एक भागको रूपमा सरकारले करिब ८० करोड जनसङ्ख्यालाई निःशुल्क खाद्यान्न उपलब्ध गराएको छ ।

सप्ताहन्तमा सरकारले पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य घटाउने कर परिवर्तन र अनुदानहरू घोषणा गरेको भए पनि त्यसले कति राहत दिन्छ भन्ने स्पष्ट छैन । राज्यले निवृत्तिभरणस्वरुप प्रति महिना रु २०० उपलव्ध गराउँछन् भने केही राज्यले मासिक रु एक हजार देखि रु दुई हजारसम्म प्रदान गर्छन् ।
पूर्वी शहर कोलकाता निवासी एक मजदुरकी ७० वर्षीया विधवा गीता सेनले आफूले पाउने मासिक निवृत्तिभरण रु एक हजारले दुई छाक पनि खान नपुग्ने बताइन्। “प्रायः मैले खानाको लागि छिमेकीहरूसँग उधारो वा भिक्षा माग्नुपर्छ,” बस्तीको एउटा घरमा एउटा कोठा भाडामा लिएको सुनाउँदै उनले भनिन् ।उन्नत अर्थतन्त्रको रुपमा भारतले आफ्नो पहिचान बनाएको भए पनि भारतमा थोरै वृद्ध हेरचाह घरहरू छन् । धेरैजसो सेवानिवृत्तहरू सहयोगको लागि परिवारमा निर्भर छन् । महामारी र अहिलेको मुद्रास्फीतिले जीविकोपार्जनमा असर पारेकाले उनका सन्तानहरूलाई पनि अतिरिक्त तनाव दिएको छ ।

टाटा समूहको परोपकारी शाखा, टाटा ट्रस्टले गरेको अध्ययनअनुसार कोभिड–१९ को प्रकोप आउनुअघि देशभर एक हजार एक सय वृद्धाश्रम थिए । ती वृद्धाश्रम चन्दाबाट सञ्चालन हुन्छन् र लागत बढ्दै जाँदा तिनीहरूमा पनि सञ्चालनको चुनौती थपिएको छ । खाना, औषधि र इन्धनमा भएको वृद्धिले तरकारी, फलफूल, औषधि र हेरचाह प्रदायकहरूको खर्च पनि घटेको छ । दिल्लीमा रहेको परोपकारी संस्था शिओसका निर्देशक सौरभ भगतले चार सयभन्दा बढीलाई खानपानको व्यवस्था गर्न तीनवटा आश्रम चलाउँदै आएको र अहिले मासिक खर्च २० प्रतिशतले बढेको बताए ।

“हामी अब फलफूल किन्ने बारे सोच्न नसक्ने भएका छौँ,” महँगीको मारमा खर्च कटौती गर्न बाध्य भएको बताउँदै भगतले भनेका छन् । वृद्धाश्रममा आश्रय लिइरहेकी ६१ वर्षीया वसन्ती चन्दले आफ्नो बचतबाट सबै खर्च व्यवस्थापन गरे पनि परिवारले आफूलाई छाडेको बताइन् । चार छोरीलाई दिन उनले आफ्नो सानो घर बेच्नुपरेको थियो । “वृद्धाश्रमले आश्रय नदिएको भए म बाँच्ने थिइनँ,” उनले आँसु पुछ्दै भनिन् । चन्दले आफ्ना छोराछोरीलाई दोष भने दिइनन् । उनले भनिन्, “म तिनीहरूको बारेमा केही नराम्रो सोच्न सक्दिन । आखिर तिनीहरू मेरै सन्तान हुन् … उनीहरूका पनि आफ्नै समस्या छन् ।”

Leave a Reply

Your email address will not be published.

भर्खर