दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ : पूर्वउपसभापति निधी — OSNepal

दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ : पूर्वउपसभापति निधी

LC (KTM) May 27, 2022 0

जनकपुर- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै पूर्वउपसभापति निधीले नगरको विकासमा सबैले आफ्नो दलीय आस्थाभन्दा माथि उठेर सहमति, सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

दलीय पूर्वाग्रह नराखी सबैलाई समेटेर नगरको समग्र विकास गर्ने ठोस योजनाका साथ अघि बढ्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले त्यसमा आफ्नो तर्फबाट हुनसक्ने पहल र प्रयत्न गरिरहने प्रतिबद्धता व्यक्तसमेत गर्नुभयो । जनकपुरधाममा सडक, रेल र विमान सेवाको पूर्वाधार तयार भइसकेकाले यसको विकास र विस्तारमा ध्यान दिन नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुहुँदै उहाँले यसका लागि दीर्घकालीन, अल्पकालीन योजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

जनकपुरधामलाई भारतको कोलकातासँग जोड्न सकिए जनकपुरधामको धार्मिक, सांस्कृतिक, व्यावसायिक र पर्यटनलगायतका क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गर्नुहुँदै पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका निधीले अयोध्याबाट जनकपुरधामसम्म निजी कम्पनीले सिधै विमान उडान गर्ने तयारी गरिरहेको जानकारीसमेत दिनुभयो ।

उहाँले जनकपुरबाट भारतको जयनगरसम्म रेल सेवा सञ्चालन भइसकेको र जनकपुरधामदेखि अयोध्यासम्मको सडकलाई चार लेनमा स्तरोन्नतिको कामसमेत अघि बढीसकेकाले जनकपुरधामको धार्मिक, सांस्कृतिक विकासले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । मुलुकको धार्मिक, सांस्कृतिक र पर्यावरणीय पर्यटन विकासका लागि हिमाल, पहाड र तराई–मधेसलाई सडक सञ्जालमा जोड्नुपर्नेमा जोड दिनुहुँदै उहाँले जनकपुरधामभित्र रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षणसँगै पर्यटन प्रवद्र्धनका योजना बनाउन सुझावसमेत दिनुभयो ।

कार्यक्रममा मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले नगरक्षेत्रका विकासलाई प्राथमिकता निर्धारण गरी जनअपेक्षाअनुसारको काम गर्न नवनिर्वाचित जनप्रतिनिधिसँग आग्रह गर्नुभयो ।दलित बस्ती र पछाडि परेको वडालाई प्राथमिकतामा राखेर त्यहाँको जनताको चाहनाअनुरुपको योजना बनाएर अघि बढ्न सुझाव दिनुहुँदै उहाँले त्यसमा सबै पक्षले सहयोग गर्नुपर्ने बताउनुभयो । सो अवसरमा जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साह र उपप्रमुख किशोरी साहले जनताको इच्छा आकाङ्क्षा पूरा गर्दै सुन्दर, समृद्ध नगर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अल्पकालीन, दीर्घकालीन र वार्षिक योजना बनाएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै आगामी पाँच वर्षभित्र जनकपुरधाममा ३० किलोमिटर बाइपास रिङरोड सडक बनाउने योजना रहेको सुनाउनुभयो ।पदभार ग्रहण गरेकै दिन आफूले नगरक्षेत्रको सरसफाइलाई वडास्तरमा विकेन्द्रीकृत गरेको जानकारी दिनुहुँदै नगरप्रमुख साहले नगरका २५ वटै वडालाई ट्र्याक्टरसहित सरसफाइका आवश्यक जनशक्ति र बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा नगरप्रमुख साहले उपप्रमुख, २५ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्यलाई शपथग्रहण गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर