चलचित्र ‘वर एण्ड वधु' नेपाली र हिन्दी भाषामा निर्माण हुने — OSNepal

चलचित्र ‘वर एण्ड वधु’ नेपाली र हिन्दी भाषामा निर्माण हुने

LC (KTM) May 27, 2022 0

काठमाडौं । नेपालमा प्रचलित विवाह संस्कृति र प्रेमकथामा केन्द्रित रहेर चलचित्र ‘वर एण्ड वधु’ बन्ने भएको छ । राजधानीमा बुधबार निर्माता तथा निर्देशक मिलन चाम्सले पत्रकार सम्मेलनमार्फत चलचित्र निर्माणको औपचारिक घोषणा गरे । उनका अनुसार चलचित्रमा अभिनेत्री आँचल शर्मा र डेब्यु अभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिका हुने जनाइएको छ ।

अभिनेता कर्माचार्यले अभिनेत्री आँचलसँग काम गर्दा सजिलो हुने बताउँदै चलचित्रमा नेपाली समाजको प्रतिबिम्ब प्रकट हुने बताए । उनले दुवैजनाको केमेस्ट्री मिल्ने आशासहित चलचित्र राम्रो बन्नेमा आफू विश्वस्त भएको जिकिर गरे । उनले भने, ‘चलचित्रमा सामाजिक विषय प्रधान रुपमा आएकाले यसले दर्शकको मन जित्ने आशा राखेका छौं ।’

चलचित्रमा रवीन्द्र खड्का, रमेश बुढाथोकी, किरण केसी, विजय लामा, बुद्धि तामाङ, हिमेश पन्त, रविना केसी, सृष्टि खड्का लगायतका कलाकारको अभिनय रहने निर्माण पक्षले जनाएको छ । यस चलचित्रमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह केमियो भूमिकामा देखिने छन् । रोमानिया, इटाली, फ्रान्स लगायतका मुलुकमा छायांकन गरिने यो चलचित्र प्रदीप भारद्वाजले लेखेका हुन् ।सौर्य दैनिकमा खबर छ । जेठ अन्त्यदेखि छायांकन सुरु गर्ने तयारी गरिरहेको निर्देशक चाम्सले जानकारी दिए । उनले नेपाली र हिन्दी भाषामा निर्माण हुने यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारमा फाइदा पुग्ने आशा लिएको बताए ।

उनले भने, ‘नेपाली र हिन्दी भाषाका दर्शकलाई समेत चलचित्रले आकर्षण गर्ने आशा राखेका छौं । तसर्थ हामीले फरक तरिकाले फिल्म बनाउन लागेका हौं । सकारात्मक रुपले फिल्मलाई अघि बढाइएन भने भोलि उद्योगको लागि खराब स्थिति आउन सक्छ ।’ निर्देशक चाम्सले नेपाली संस्कृतिलाई चलचित्रमा कलात्मक रुपले उठान गर्ने लक्ष्य राखेको जिकिर गरे । उनले भने, ‘नेपाली संस्कृतिमै आधारित रहेर बनाउने यो फिल्मले सांस्कृतिक फाइदा पनि पुग्छ ।’ उनले नेपालको विवाहको परम्परालाई मनोरञ्जनात्मक ढंगले चलचित्रमा उतार्ने कोशिस आफूहरुको रहने विचार व्यक्त गरे । रवीन्द्र सुवेदीले छायांकन गर्ने यो चलचित्रमा अर्जुन पोखरेल र युग भुसालको संगीत रहने जनाइएको छ । एलआरके इन्टरटेनमेन्टले निर्माण गर्ने चलचित्रको बजेट तीन करोड रुपैयाँ लाग्ने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर