हिमपातले बेँसी फर्किए यार्सागुम्बा सङ्कलक — OSNepal

हिमपातले बेँसी फर्किए यार्सागुम्बा सङ्कलक

LC (KTM) May 27, 2022 0

मनाङ, १३ जेठ – हिमाली जिल्ला मनाङमा हिमपात भएपछि औषधिजन्य जडीबुटी यार्सागुम्बा सङ्कलनकार्य रोकिएको छ । हिमपात भएपछि खर्क पुगेका सङ्कलक हाल बेंसी फर्किएका छन् । हिमपातका कारण यार्सागुम्बा सङ्कलन गर्न नसक्ने अवस्था भएपछि बेँसी फर्किएको धादिङ रिहीका ४६ बर्षिय मिलन तामाङले बताउनुभयो । “यार्सागुम्बा क्षेत्र भ्राताङ लेकमा हिउँ परेपछि सङ्कलन गर्न नसकेर बेँसी झरेका हौँ”, तामाङले भन्नुभयो ।

तामाङले नार्फूको हुलाबाट लेकमा यार्सागुम्बा सङ्कलन गर्दै आउनुभएको थियो । उहाँका अनुसार दैनिक नौ/दश वटामात्रै यार्सागुम्बा सङ्कलन गर्न सकिन्थ्यो । चैतदेखि यार्सागुम्बा सङ्कलन गर्न मनाङ आउनुभएका तामाङ लेकमा करिव डेढ महिना बसेको बताउनुभयो । उहाँका अनुसार सङ्कलन गर्ने स्थानमै ठेकेदारले एक यार्साको रु ४०० मा खरीद गर्ने गर्छन् । डेढ महिनामा २०० यार्सागुम्बा सङ्कलन गरेको उहाँ बताउनुहुन्छ । ठेकेदारले राम्रो प्रकारको यार्सागुम्बा मात्रै खरिद गर्ने उहाँले बताउनुभयो । तामाङ यार्सागुम्बा टिप्ने समयमा मात्रै मनाङ आउने गर्नुहुन्छ ।

खर्कमा हिउँ परेपछि यार्सागुम्बा सङ्कलन गर्न सकस भएकाले बेँसी फर्र्किएको सङ्कलक बताउँछन् । उनीहरुले आफैँले खाना बनाएर खाने र ओडारमा बसेर यार्सागुम्बा सङ्कलन गर्ने गरेको सुनाए । ताञ्जो खर्कमा हिउँ पर्नुका साथै लगेको खाद्यान्न पनि सकिएपछि सामग्री लिन र हिउँ पर्न छाड्ने समयसम्म चामे झरेको सोही सङ्कलक रोहित तामाङले बताउनुभयो । धादिङका १९ जनाले यार्सागुम्बा सङ्कलन गर्नका लागि ठेकेदारले रु ४२ लाख पुर्जी काटेको सोही ठाउँका ३० वर्षीय एसु तामाङले बताउनुभयो । हालसम्म ५२० यार्सागुम्बा सङ्कलन गरेको उहाँले बताउनुभयो । “ठेकेदारले राम्रो खालको यार्सागुम्बालाई मात्रै प्रतिवटा रु ४०० दिन्छन्”, तामाङले भन्नुभयो ।

केही खर्कमा चैत पहिलो सातादेखि जेठको तेस्रो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय हो भने केही स्थानमा असारको पहिलो हप्तासम्म यार्सागुम्बा सङ्कलन गर्न सकिन्छ । यार्सागुम्बा पाउने समय अझै रहेकाले हिमपात र खाद्यान्न लिएर पुनःखर्कतर्फ जाने उनीहरुले बताए । विशेषगरी यस मौसममा यार्सागुम्बा सङ्कलन गरी घरमा ल्याएर सुरक्षित गर्ने समयका रुपमा लिइन्छ । औषधिजन्य जडीबुटी सङ्कलनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको गत चैत २३ गते बसेको बैठकले यार्सागुम्बा सङ्कलन गर्न इजाजत प्राप्त भएपछि समितिमार्फत पूर्जी दिने निर्णय भएको थियो ।

बैठकको निर्णयबमोजिम नै यार्सागुम्बा सङ्कलन गर्न पाउने भएपछि मनाङवासीलाई चटारो परेको थियो । उक्त जडीबुटी सङ्कलन मनाङवासीको मुख्य आयस्रोत मानिन्छ । यार्सा सङ्कलन गर्न जिल्लावासी मात्रै नभएर बाहिरी जिल्लाबाट पनि आउने गर्दछन् । यार्सा सङ्कलनकार्य नाम्केखर्कबाट सुरु हुन्छ भने नार्फु र माथिल्लो मनाङको खाङ्सार खर्कमा सकिने एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार असारको पहिलो हप्तासम्म यार्सा सङ्कलन गर्न सकिने समय हो । वैशाख १५ देखि असारको पहिलो सातासम्म यार्सा सङ्कलन गरी बेँसीतर्फ फर्किने समय हुन्थ्यो ।

मनाङवासीलाई यहाँको नागरिकता वा बसाइँसराइ भएमा बसाइँसराइको प्रमाणपत्रका आधारमा यार्सागुम्बा सङ्कलन पूर्जी दिने गरिन्छ । संस्थामार्फत यार्सागुम्बा सङ्कलन गरिँदैछ भने आर्थिक वर्ष २०७७/७८ मा दिइएको सङ्कलन पूर्जी उपलब्ध गराइने गौतमले बताउनुभयो । उहाँका अनुसार यार्सागुम्बा सङ्कलकले १० वटा यार्सागुम्बामध्ये एक छोड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।

यार्सागुम्बा सङ्कलन अवधिभर नेपाल प्रहरीद्वारा आवश्यकतानुसार नार, फुलगायतका अन्य स्थानमा सुरक्षा प्रबन्ध मिलाउने र अन्य सुरक्षा निकायले सहयोग गर्ने गर्दछन् । सङ्कलन गरेको परिचयपत्र सम्बन्धित संरक्षण क्षेत्र तथा व्यवस्थापन समितिको सिफारिस, दस्तुरको रसिद र सम्बन्धित गाउँपालिकाको रसिद लिएर आएमा मात्र छोडपूर्जी दिन अनुरोध गरिएको गौतमले बताउनुभयो ।

मनाङ बाहिरका यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक र खरिद गर्न आउने व्यक्तिले अनिवार्यरुपमा कोभिड–१९ विरुद्धको खोप लगाएको परिचयपत्र (मोबाइलमा भए पनि खोपकार्ड) लिएर आउनुपर्ने र प्रहरी कर्मचारीले माग गरेको अवस्थामा देखाउनुपर्नेछ । यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलक तथा खरिदकर्ताले आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनसमेत अनुरोध गरिएको छ ।

गत दुई वर्ष यार्सागुम्बा तथा अन्य जडीबुटी सङ्कलन र खरिद बिक्री गर्न नसक्दा जिल्लाको राजस्व घटेको बताइएको छ । यसवर्ष यार्सागुम्बा सङ्कलन भएकाले राजस्व वृद्धि हुने अपेक्षा गरिएको छ । विगतमा जेठ अन्तिम सातासम्म यार्सागुम्बा सङ्कलन गर्ने समय तोकिएको भए पनि यस वर्ष निर्वाचनका लागि केही समय रोक लगाइएकाले असारको पहिलो हप्तासम्म सङ्कलनको समयसीमा तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर