आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ : सहमहामन्त्री पाण्डे — OSNepal

आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ : सहमहामन्त्री पाण्डे

LC (KTM) May 27, 2022 0

काठमाडौँ, १३ जेठ -नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष भेलामा उहाँले स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर आगामी प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने बताउनुभएको हो ।

“स्थानीय तहको निर्वाचनमा गठबन्धन फितलो हुनु, टिकटमा न्यायोचित वितरण नहुनु, आफूले टिकट नपाउँदा अन्तर्घात हुनेजस्ता प्रवृत्ति देखियो, स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर कांग्रेस पहिलो शक्ति बन्छ”, उहाँले भन्नुभयो । सहमहामन्त्री पाण्डेले पाँच दलीय गठबन्धनलाई प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनसम्म लैजानुपर्ने बताउनुभयो । स्थानीय तहको निर्वाचनबाट पाठ सिकेर गठबन्धनलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

उहाँले स्थानीय तहको निर्वाचनमा कांग्रेसको पक्षमा सन्तोषजनक नतिजा आएको उल्लेख गर्नुभयो । पार्टीभित्र नीतिगत सुधारको खाँचो रहेको सहमहामन्त्री पाण्डेको भनाइ थियो । सहमहामन्त्री पाण्डेले लोकतन्त्रलाई बलियो बनाउन आवधिक निर्वाचन आवश्यक रहेको भन्दै पार्टीभित्रका भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन समयमा नै सम्पन्न गर्नुपर्ने बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर