शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पार्यो – OSNepal

शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पार्यो

Osnepal Admin (KTM) May 27, 2022 0

पाँचथर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका नेता राजकुमार जोशीले शनिबार र आइतबार बिदा दिने व्यवस्थाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा प्रतिकूल प्रभाव पारेको भन्दै, तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

‘साताको दुई दिन बिदा दिने सरकारको निर्णयले स्थानीय तहमा प्रतिकूल असर पारेको देखिन्छ । विशेष गरेर स्वास्थ्य र शिक्षाको क्षेत्रमा सेवाग्राही र विद्यार्थीमाथि नकारात्मक प्रभाव परेको छ । पाँचथरका भुईँ तहबाट हामीले यस्तै प्रतिक्रियाहरु प्राप्त गरेका छौं,’ राप्रपा पाँचथरका नेता जोशीले बिहीबार भने ।

नयाँ व्यवस्था लागू भएपछि, स्थानीय तहमा स्वास्थ्य चौकीहरु शनिबार र आइतबार बन्द रहने गरेकोले स्वास्थ्यसम्बन्धी अत्यावश्यक सेवाबाट स्थानीय जनताहरु वञ्चित भएको उनको भनाइ छ । ‘एक्कासी आएको नयाँ व्यवस्थाले विद्यार्थीहरुको पठनपाठनको नियमिततामा अवरोध सिर्जना भएको छ,’ उनले भने ।

‘यसैकारण स्वास्थ्य र शिक्षाको क्षेत्रमा दुई दिनको बिदाबाट उत्पन्न समस्या तत्काल समाधान गर्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ जोशीले भने । उनले जनताको ढाड भाँच्ने पेट्रोलियम पदार्थको अव्यवहारिक मूल्य वृद्धि फिर्ता लिन पनि सरकारसँग जोडदार माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर