बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पर्यटकको चहलपहल बढ्दै — OSNepal

बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पर्यटकको चहलपहल बढ्दै

LC (KTM) June 02, 2022 0

बलेवा-बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको छ । कालभैरव पुग्न सडक कालोपत्र गरिएको छ भने कतिपय ठाउँमा सडकको स्तरोन्नतिसमेत गरिएको छ । सडकको पहुँचका कारण अहिले यहाँ पुग्ने धार्मिक पर्यटकको चाप थेगिनसक्नु भएको छ । जेठ लागेपछि मङ्गलबार र शनिबार यहाँ आउने धार्मिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । मनोकांक्षा पूरा हुने विश्वासका साथ मन्दिरमा बली चढाउनेको सङ्ख्या अत्यधिक छ ।

मनोकांक्षा पूरा भएपछि बोकाको बलि दिन कालभैरव पुग्नुभएका बागलुङ नगरपालिका–८ सिगानाका कर्ण कार्की यहाँ पुग्न पहिलाको जस्तो कठिनाइ भोग्नु नपरेको बताउनुहुन्छ । मुलुकका विभिन्न जिल्लाबाट तथा छिमेकी भारतबाट समेत उल्लेख्य सङ्ख्यामा यहाँ धार्मिक पर्यटक आउने गरेका छन् । केही समय अगाडिसम्म बागलुङमा आन्तरिक पर्यटकमात्रै पर्यटकीयस्थलमा पुग्थे । पछिल्लो समय यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक मात्रै नभएर भारतीय पर्यटकसमेत आउन थालेका छन् । खासगरी कालभैरव, सिर्वसिद्धिधाम, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, बागलुङ कालिका र लामो झोलुङ्गे पुलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन थालेको छ ।

मुक्तिनाथ जाने भारतीय पर्यटकसमेत शालग्राम दर्शनका लागि बागलुङ नगरपालिका–४ कुडुँले आउने गरेका छन् । बागलुङ र पर्वत जोड्ने गरी निर्माण गरिएको ५६७ मिटर लामो पुलका कारण पनि मुक्तिनाथ जाने पर्यटक बागलुङ पस्न थालेको पाइएको छ । विगत वर्षको तुलनामा यस वर्ष बाह्य पर्यटक बागलुङ आउन थालेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । “आन्तरिक पर्यटकको आकर्षण बढेको पाइयो”, उहाँले भन्नुभयो, “अहिले त मुक्तिनाथ जाने भारतीय पर्यटक पनि आउन थाल्नु भएको छ ।”

शालग्रामको संरक्षण गर्ने र बागलुङलाई धार्मिक पर्यटकको हब बनाउने उद्देश्यले १०० मिटर सुरुङ निर्माण गरी सवा लाख शालग्राम संरक्षित गरिएको छ । सुरुङमा शालग्रामसँगै धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका वृत्तचित्र राखिएका छन् । यहाँ दामोदर कुण्डदेखि देवघाटसम्मको नक्सा कलात्मकशैलीले निर्माण गरिएको छ । शालग्राम सङ्ग्रहालयसँगै सोही स्थानमा मन्दिरसमेत निर्माण गरिएको छ ।बागलुङसम्म आउने सडकको सहज पहुँच र यहाँ बनेको पर्यटकीय पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न मद्दत पुगेको प्रपन्नाचार्य बताउनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर