राजनीतिक दल भेटेर र अनशन बसेर सेयरको मूल्य बढ्छ ? — OSNepal

राजनीतिक दल भेटेर र अनशन बसेर सेयरको मूल्य बढ्छ ?

LC (KTM) June 07, 2022 0

अनुसा थापा :
सेयर लगानीकर्ताहरु बौलाएर हिड्नुपर्ने अवस्था निम्तिएको छ । सेयर खरिदबिक्री निरन्तर ओरालो लाग्दा उनीहरुलाई ‘मर्नु न मोटाउनु’ भएको छ । सेयरमा लगानी गर्नेहरु चुलुम्मै डुब्दा पनि सरकारले सेयरमा बन्देज लगाएको छैन् । पुराना त फसिसके भने नयाँ फस्ने क्रम जारी छ । आफुसंग भएको जेथो बेचेर सेयरमा लगानी गरे । तर, निरन्तर सेयरको मूल्य घट्दा उनीहरु सडक छाप भएका छन् । प्रतिकित्ता दुई हजारमा किनेको सेयर तीन सय पनि बिक्री नभएको लगानीकर्ताको गुनासो छ ।
नयाँले सेयर खरिद गर्न छोडिसकेका छन् । पुराना लगानीकर्ताहरु चियापसलमा सेयर खरिदकर्ता खोज्दै हिडिरहेका छन् । बैंक, फाइनेन्स र विभिन्न संघसंस्थाले एक सय रुपैंया कित्तामा सेयर निकास गरे । नाफा हुने देखेपछि सेयर खरिद गर्नेहरुको ओइरो नै लाग्यो । तर, पछिल्लो समय वित्तिय संस्थाहरु पनि टाँट पल्टिदै गयो । यी संस्थाहरु आफ्ै घाटामा छन् । जसको कारण उनीहरुले बोनस दिन सक्ने अवस्था रहेन् । वित्तिय संस्थालाई जति नाफा भो सोही अनुसार सेयर लगानीकर्तालाई नाफा दिन्छन् । यसले गर्दा सेयरको मूल्य बढ्छ ।

६ महिनामा हामीले यति नाफा कमायौं भनेर वित्तिय संस्थाहरुले झुठो विवरण सार्वजनिक गर्दै आएका छन् । सिधासाधी आम नागरिकलाई ‘मुर्गा’ बनाउन उनीहरुले यो रणनिति अप्नाएको बुझिन्छ । यसो गरेपछि सर्वसाधारणले सोही बैंकमा लगेर रकम जम्मा गर्ने र सेयर खरिद गर्ने भएकाले यो योजना बनाइएको हो । आफु कमाउन र बोनस खानका लागि सिधासाधी जनता फसाउन मिल्छ ? सेयर धितो राखेर बैंकफाइनेन्सबाट कर्जा तिर्न नसकेर भाग्नुपर्ने अवस्था आएको छ । त्यसैगरी, घरजग्गा धितो राखेर सेयर किन्नेहरु सडकमा आइपुगेका छन् ।

आफुसंग भएको त सिद्धाइहाले । यता, अरुसंग ऋण लिएर सेयरमा लगानी गर्दा उनीहरु पनि डुब्ने भए । सेयरको मूल्य घटेर वित्तिय संस्थाहरु पनि डुबेको बुझिन्छ । एकातिर सेयरको मूल्य घटेको छ भने सेयर धितो राखेर कर्जा लिएकाहरुले किस्ता तिर्न सकेका छैनन् । सेयर दलालीहरुलाई बैंकफाइनेन्सले सेयरले सेयरको मूल्य बढाउन लगाएका हुन् । सेयरको विषयमा ज्ञान नै नभएकालाई यसबाट नाफा हुन्छ भन्ने भ्रममा पारेर उनीहरुलाई फसाए । सेयर दलाल र वित्तिय संस्थाले मँहगोमा सेयर बेचे, कमाए । तर, नाफा हुन्छ भनेर मँहगोमा सेयर किन्ने निर्दोष जनताचाहि फसे ।

अरुको लहैलहैमा लाग्दा र छिटो धनी बन्ने सपना देख्दा एकसय रुपैंया कित्ताको सेयरलाई तीन हजारसम्म मूल्य तिरेर किन्यौ । जुनैपनि संघसंस्थाले प्रतिकित्ता एक सय रुपैंयामा सेयर निकास गर्छ । तर, दलालसंग एउटा सेयरको तीन हजार हालेर किन्नेहरु पनि यत्तिकै छन् । एक सयको सेयर तीन हजारमा बेच्ने दलाललाई सरकारले कारबाही गरेको छैन् । दलालहरुले कमायो तर सोझासाझीलाई फसायो । सेयरमा लगानी गर्नु भनेको जुवा खेल्नुसरह हो भने तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए ।

आँखा चिम्लेर सेयरमा लगानी गर्दा उठीबास हुन सक्छ भनेर उनले पहिले नै सचेत पनि गराएका थिए । एक सय पर्ने सेयरलाई तीन हजार हालेर खरिद गर्नुको औचित्य के ? जनताले अर्थमन्त्री खतिवडाको कुरा नसुनेर ‘आफ्नो खुट्टामा आफैले बञ्चरो हाने ।’ उनले भनेको कुरा आज सत्य बन्यो । सेयर दलालहरु त्यतिखेर जति नै खनिए पनि उनले बोलेको हरेक शब्द आज सत्य साबित भयो । वित्तिय संस्थाले पनि अन्य क्षेत्रमा लगानी गर्न छोडेर सेयरमा मात्रै लगानी गर्न थाल्यो । जसको परिणाम बैंक र फाइनेन्सले अहिले भोगिरहेको छ । सेयरमा मन्दी आउदा उनीहरु त डुबिहाले । यता, बचतकर्ताले खाइनखाई जम्मा गरेको रकम पनि डुब्ने भयो ।
पछिल्लो एक वर्षदेखि सर्वसाधारणले वित्तिय संस्थामा लगेर पैसा राख्न छोडिसकेका थिए । आफ्नो खातामा भएको रकम पनि धमाधम निकाल्ने क्रम सुरु भइसकेको थियो । किन कि बाठाटाठाले एक वर्ष अघि नै वित्तिय संस्था धरासायी बन्छ भनेर बुझिसकेका रहेछन् । निजी बैंकहरुसंग अहिले १० लाखको चेक साट्नसंग हैसियत छैन् ।

सहकारीले त एक लाखको चेक पनि साट्न सक्दैन् । कर्जा दिन ठप्पझै भइसकेको छ । यति प्रतिशत व्याज दिन्छौ भनेर लोभ देखाएपनि कोही जालमा फस्ने देखिदैनन् । बैंकफाइनेन्सले आफुमाथिको विश्वास गुमाउदाको नतिजा हो यो । अब जनताहरु व्याजको पछि भाग्दैनन् भन्ने कुरा अहिलेको अवस्थाले देखाइसकेको छ । वित्तिय संस्था जनताको पैसाबाट चलेको संस्था हो । एउटाले डिपोजिट गर्छ अर्कोलाई मँहगोमा कर्जा लगाउछ । बिचमा बसेर पुलको काम गरेर वित्तिय संस्थाले कमाइरहेको थियो । तर, अब यी संस्था डुब्ने निश्चित छ । सहकारीहरुले पनि जथाभावी कर्जा लगानी गर्ने काम गरे । सेयरमा लगानी गर्नेमा सहकारीहरु पनि पर्छन् । जसका कारण सहकारी नै बन्द गरेर हिड्नुपर्ने अवस्था आइलागेको छ । वित्तिय संस्थामा पैसा जम्मा गर्नेहरु अहिले तनावमा छन् । यता, सेयर लगानीकर्ताहरु त रातको निद्रा हराइसकेको छ । तापनि सरकार कानमा तेल हालेर बसेको छ । आफ्नो लगानी डुबेको आक्रोश पोख्न सेयर लगानीकर्ताहरु आन्दोलित भएका छन् ।

आफ्नो लगानीको बचाऊको माग गर्दै उनीहरुले सडकमा उत्रिने घोषणा गरिसकेका छन् । हिजो सरकारले सेयरमा लगानी गर भनेको हो ? मँहगोमा सेयर खरिद गर भनेर सरकारले जबरजस्ती गरेको थियो र ? यसमा सरकारको के दोष । फाइदा हुदाँसम्म त सेयर यस्तो र उस्तो भन्ने यिनीहरु नै होइनन् ? अर्थमन्त्री जनार्दन शर्माले समेत एक सयको सेयर तीन हजारमा खरिद नगर्नु भनेर सुझाएका थिए । तर, कसैले टेरपुच्छर मानेनन् । आफु नाफा कमाउनका निम्ति मँहगोमा सेयर किन्ने । अनि अहिले आएर सरकारलाई दोषी बनाउने ? यो पनि नैतिकता हो ? हिजो तीन हजारमा किनेको एक कित्ता सेयर पाँच हजार पुगेको भए राज्यलाई नाफा दिन्थे ? राज्यको नामसमेत पनि लिदैनथे । अनि सेयरको मूल्य घटेपछि चाहि राज्य गुहार्न मिल्छ ? अहिले सेयर लगानीकर्ताहरु हाम्रो लगानी डुब्यो भनेर राजनीतिक दलको घरघर धाइरहेका छन् । हामी आन्दोलन गर्छौ, धर्ना बस्छौं भनेर सरकारलाई घुर्की देखाइरहेका छन् । आफै गल्ती गर्ने अनि आफै निर्दोष बन्न खोज्ने ! राज्यको ऐनकानुनलाई भुङग्रामा राखेर सेयर दलालीहरुले सिधासाधी जनतालाई ठगिरहेका थिए । अहिले ठग्न नपाएपछि यिनीको होश गुमेको स्पष्ट भएको हो ।
यता, जनता पनि चेतना आएको बुझियो । सेयर खरिद गर्नुहुन्न जतिबेला पनि डुब्न सक्छौ भनेर उनीहरुमा चेतनाको विकास भएको देखियो । सेयर दलालीहरुको हर्कत सञ्चार माध्यममा भण्डाफोर हुँदा सिधासाधी जनता बचे । सेयर दलालीहरु धरासायी बने । उनीहरुको लगानी डुब्यो । कानुनमा २० प्रतिशतभन्दा बढी नाफा खाएर कुनै पनि सामान बिक्री गर्न पाइदैन् । बैंकले सय रुपैंयामा निकास गरेर सेयर २० रुपैंया नाफा खाएर मात्र बेच्न पाइन्छ । तर, यहाँ त सय रुपैंयामा किनेको सेयर तीन हजारसम्म पनि बेच्ने काम भयो । त्यतिखेर सरकार टुलुटुल हेरेर बस्यो । उनीहरुलाई कानुनको दायरामा ल्याइएन् ।

जनता र राज्यको आँखामा धुलो झोकेर अर्बपनि भएका सेयर दलालहरु बल्ल सडक छाप भएका छन् । आफुले गरेको कर्तुतको फल भखरै भोग्दैछन्, उनीहरु । सेयरको मूल्य बढाउनु र घटाउनुमा जनताको ठूलो हात छ । हिजो धेरै सेयर खरिदबिक्री भयो भाउ ह्वात्तै बढ्यो । आज सेयरको बिक्री ठप्पझै भयो, भाउ घट्यो । जनताभन्दा शक्तिशाली कोही पनि रहेछन् भन्ने कुरा साबित भइसकेको छ । जनतामा चेतना आउनु भनेको ठगिनुबाट जोगिनु हो । सेयर लगानीकर्ताहरु हिजो प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न पुगेका थिए । उनीहरु दिनहुजसो राजनीतिक दलको घर पुगिरहेका छन् ।
अनशन बस्छौ भनेर सरकारलाई त्रास देखाइरहेका छन् । तर, प्रधानमन्त्री देउवाले सेयरको मूल्य बढाउने हो ? उनीहरु अनशन बसेर सेयरको मूल्य बढ्छ भनेपनि ठिकै छ । हिजो सिधासाधी जनतालाई हामी ठग्यौ भनेर उनीहरुले स्वीकार्नुपर्छ । जनताको चेत खुलेछ भनेर उनीहरुको मस्तिष्कमा छाप बस्नुपर्छ । अब सरकारले मँहगोमा सेयर बेचेर सिधासाधी जनता ठग्नेहरुलाई कारबाही गर्नुपर्छ । झुठो विवरण सार्वजनिक गरेर सेयरको मूल्य बढाउन खोज्ने वित्तिय संस्थालाई नेपाल राष्ट्र बैंकले कारबाही गर्नुपर्छ । सेयर लगानीकर्ता डुब्नुको प्रमुख दोषी वित्तिय संस्था र विभिन्न कम्पनीहरु हुन् । छिटो धनी बन्न खोज्दा आज गाँस, बास नै उठ्यो । जसरी बाघ मासु खाने लोभ खोरमा पर्छ त्यसैगरी सेयर लगानीकर्ताहरु फसे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर