बाढीसहितको पहिरो जाँदा बेँसीशहर-चामे सडक अवरुद्ध,फार्मसहित बङ्गुर बगायो — OSNepal

बाढीसहितको पहिरो जाँदा बेँसीशहर-चामे सडक अवरुद्ध,फार्मसहित बङ्गुर बगायो

LC (KTM) June 15, 2021 0

लमजुङ, १ असार-आइतबारदेखि निरन्तर वर्षाले आज बाढीसहित पहिरो जाँदा बेँसीशहर—चामे सडक, खेल मैदान र बङ्गुर बगाएको छ । मनाङ जोड्ने बेँसीशहर चामे सडकअन्तर्गत जिल्लाको बेँसीशहर नगरपालिका—६ स्थित खरखरे भीरमा सडक बाढी पहिराले बगाएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार मस्र्याङ्दी नदीले सडक भासिएको छ भने सडक माथि भीरबाट ठूलाठूला ढुङ्गासहितको पहिराले सडक भासिन पुग्दा सडक अवरुद्ध भइरहेको छ । यहाँ करीब ३० मिटर सडक नै भासिएको छ ।

सडक अवरुद्ध भएपछि निषेधाज्ञाका बेला सञ्चालन हुने अत्याश्यक ढुवानीका साधन तथा सवारी साधन रोकिनु पर्ने भएको छ । त्यस्तै मस्र्याङ्दी गाउँपालिका—४ रामबजारमा रहेको बाघेता युवा क्लवको खेल मैदान मस्र्याङ्दी नदीले बगाएको छ । क्लबका अध्यक्ष विष्णु गुरुङका अनुसार नदीमा पानीको बहाव वृद्धि हुँदा १० मिटर जति खेलमैदान बगाएको र अझै खेल मैदान बगाउने क्रम जारी रहेको छ । खेल मैदान यसै वर्ष गण्डकी प्रदेश सरकारको रु २० लाख र मस्र्याङ्दी गाउँपालिकाको रु पाँच लाख गरी रु २५ लाखमा निर्माण गरिएको थियो ।

त्यस्तै, सोही वडाको जगतमा चन्द्रबहादुर गुरुङको बङ्गुर फार्मसहित ५०÷ ५० किलोको दुई वटा बङ्गुर बगाएको वडाध्यक्ष सुमन गुरुङको भनाइ छ । निरन्तर परेको पानीले विभिन्न स्थानबाट बाढी आउनुका साथै मस्र्याङ्दी नदीलगायत खोलाहरुमा पानीको बहाव बढिरहेकाले अझै क्षति हुन सक्ने वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “भौतिक क्षति भएपनि हालसम्म मानवीय क्षति भने हुन पाएको छैन ।”यस सडकखण्डमा पर्ने सोही वडाको रामबजार पनि बाढीले केही घरहरु उच्च जोखिममा परेको वडाध्यक्ष गुरुङले बताउनुभयो । यहाँ विसं २०७५ मा पनि केही स्थानीयवासीलाई बाढीले बगाएको थियो भने घरहरुमा क्षति पुगेको थियो ।

त्यस्तै, बेँसीशहर चामे सडकखण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका र चामे गाउँपालिका जोड्ने तिमाङ खोलामा रहेको बेली बिज्र समेत बगाएको मनाङबाट सुरेन्द्र बरालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “साथै धारापानीको केही घरमा क्षति पुगेको छ भने, नासोँ गाउँपालिका—१ स्थित ताल बजारमा रहेको सबै घरहरु उच्च जोखिम बनाएको छ ।” त्यहाँ रहेका सबै घरहरु मस्र्याङ्दी नदीले डुबाउन सक्ने खतरा बढेकाले त्यहाँका स्थानीहरुको उद्धार भइरहेको उहाँले बताउनुभयो ।

दोर्दी खोलाको बाढी सुपरदोर्दी ‘ख’ आयोजना पस्यो :- पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट जलविद्युत् आयोजनामा दोर्दी खोलामा आएको बाढी पसेको छ । केही दिनबाट निरन्तर परेको पानीले आज बिहान दोर्दी खोलामा बाढी आउँदा यस आयोजनाको बाँधस्थल भरिएर आयोजनाको सुरुङ, पार्किङ स्थललगायतका स्थानमा बाढी पसेको हो । आयोजनाको मुख्य सिरुङमा बाढी पस्न थालेसँगै सुरुङभित्र काम गर्दै गरेका ५०÷६० जना कामदारको सहकुशल उद्धार गर्न सफल भएको आयोजनाले जनाएको छ । आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलका अनुसार आयोजनाको विभिन्न भागमा दोर्दी खोलामा आएको बाढी छिरेको छ । हालसम्म आयोजनामा रहेको एउटा ट्याक्टर, पम मेशिनलगायतका सामग्री सो बाढीले बगाएको उहाँको भनाइ छ ।
हामी यतिबेला आयोजनाको अन्य संरचना तथा सामग्री एवं यहाँका कर्मचारीहरु जोगाउन तयारीमा लागेकाले अरु के कति सामग्रीमा क्षति पुगेको छ भन्ने विस्तृत विवरण आउन बाँकी रहेको आयोजनाका साइट इन्चार्ज सिग्देलले बताउनुभयो । यतिबेला दोर्दी खोलामा यसअघि २०७६ साउन ८ गते क्षति बनाउने गरेर आएको बाढीभन्दा ठूलो आएको छ । त्यति बेला समेत यस आयोजनामा करीब रु १० करोडको क्षति भएको बताइएको छ ।

त्यस्तै, खोलामा बाढी ठूलो आउने क्रम जारी रहेको र सो बाढीले बाँघ स्थलमा रहेको सिमेन्ट बालुवा खोल्ने ब्याटिङ प्लान्ट बगाउन लागेको आयोजनाका लेखा अधिकृत रामबहादुर काफ्लेले बताउनुभयो । खोलामा असामान्य बाढी आएकाले अझै आयोजनामा क्षति हुन सक्ने उहाँको भनाइ छ । यस आयोजनामा बाढी पसेसँगै सबै निर्माणका कार्य राकिएको आयोजनाले जनाएको छ ।कूल रु आठ अर्ब ८० करोड रुपैयाँको लगानी रहेको यस आयाजना अन्तिम चरणमा पुगेको छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता (पिपिए) गरी विसं २०७२ असोज महिनाबाट निर्माण थालनी हुँदै पटकपटक म्याद थप गर्दै अघि बढिरहेको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर