भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुप मन्दिर पुनःनिर्माण सुरु — OSNepal

भत्केको सात वर्षपछि पशुपति क्षेत्रको विश्वरुप मन्दिर पुनःनिर्माण सुरु

LC (KTM) June 07, 2022 0

काठमाडौँ, २४ जेठ – विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर भूकम्पले भत्केको सात वर्षपछि पुनःनिर्माणका लागि क्षमापूजासहित शिलान्यास गरिएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पशुपति क्षेत्रस्थित मृगस्थलीमा रहेको विश्वरुप मन्दिर क्षतिग्रस्त भएको थियो ।

हनुमानढोकाको लायकू बहाल क्षेत्रमा बेवारिसे रहेको मूर्तिलाई जङ्गबहादुर राणाले विसं १९२४ मा पशुपति क्षेत्रको मृगस्थलीमा स्थापना गरेको इतिहास छ । प्रतिमाशास्त्रका पुस्तकहरुमा विश्वरुपको वर्णन गर्दा ब्रह्मा, विष्णु र महेश्वरलगायत सबै देवता समाहित भएको उल्लेख गरिएको छ । धेरै बाहु, शिर, पाउ भएको विश्वरुप व्यापक र जन्म मृत्युको कारण भएको ती ग्रन्थमा उल्लेख छ । पुराणहरुमा शिव, विष्णु र ब्रह्मालगायत अरू देवीदेवताको पनि विशिष्ट र व्यापक स्वरुपलाई विश्वरुप भनी उल्लेख गरिएको छ ।

विष्णुको विश्वरुपको स्वरुप लिच्छविकालदेखि नै नेपालमा प्रसिद्ध रहेको थियो । चाँगुनारायणमा विष्णुको विश्वरुप मूर्ति छ । गीतामा वर्णन गरिएअनुसार महाभारत युद्धमा कृष्णले अर्जुनलाई देखाएको स्वरुपकै आकार चाँगुमा रहेको कोषले प्रकाशन गरेको ‘पाशुपत क्षेत्रका सांस्कृतिक सम्पदा (मूर्त र अमूर्त)’ नामक ग्रन्थमा उल्लेख छ । चाँगु र मृगस्थली क्षेत्रमा रहेको विश्वरुप मन्दिरका बीचमा मेल नरहेको ग्रन्थमा उल्लेख गरिएको छ । यहाँको मन्दिरमा विश्वरुप र विश्वरुपा एवं कामेश्वर र कामेश्वरी आलिङ्गन गरिरहेको मुद्राको मूर्ति छ ।

मूर्तिमा शिव र शक्ति दुवैका धेरै हात एवं टाउको देखाइएका छन् । हातमा विभिन्न थरीका हतियार देखाइएको छ । मूर्तिको अघि श्रीयन्त्र राखिएको छ । श्रीयन्त्रमै पूजा आराधना हुने गरेको छ । प्रत्येक अष्टमीका दिन विश्वरुपाको विशेष पूजा गर्नुपर्ने विधान रहेको छ । भूकम्पले भत्किएको मन्दिर सात वर्षपछि आज ज्येष्ठ शुक्ल अष्टमीको दिन पारेर पुनःनिर्माणका लागि शिलान्यास गरिएको हो । यहाँ १२ फिट अग्लो धातुका पाता जोडिएको विश्वरुपको मूर्ति देख्न सकिन्छ ।

अर्को मतअनुसार बौद्ध धर्मसँग सम्बन्धित सम्बर देवताको मूर्ति विश्वरुप मन्दिरमा राखिएको भन्ने भनाइ पनि छ । यसैले विश्वरुप मन्दिर हिन्दू र बौद्ध दुवै धर्मावलम्बीको समान आस्थाको केन्द्रका रुपमा रहेको छ । यहाँ दुवै धर्मावलम्बीको उत्तिकै भीड लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर