कञ्चनपुरका सामुदायिक विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक — OSNepal

कञ्चनपुरका सामुदायिक विद्यालयमा अझै पुगेनन् पाठ्यपुस्तक

LC (KTM) June 14, 2022 0

कञ्चनपुर, ३१ जेठ – शैक्षिक सत्र सुरु भएको दुई महिना पुग्नै लाग्दा अझै पनि कञ्चनपुरका सामुदायिक विद्यालयका सबै विद्यार्थीका हातमा पा्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुगेपछि पठनपाठनमा समस्या हुने गरेको छ । “केही कक्षामा विद्यार्थीलाई पुराना पुस्तक दिएर काम चलाउँदै आएका छौँ”, शुक्लाफाँटा नगरपालिका– ६ मा रहेको बैजनाथ माध्यमिक विद्यालयका शिक्षक प्रकाश उप्रेतीले भन्नुभयो,“पाठ्यपुस्तक फेरिएका कक्षामा पठनपाठन गराउन कठिन भएको छ ।”

किताबी कुरा सिकाउन नपाएको उल्लेख गर्दै उहाँले व्यावहारिक कुरा विद्यार्थीलाई सिकाइने गरेको बताउनुभयो ।“पाठ्यपुस्तक छैनन् । कक्षा कोठामा त्यतिकै बस्नु भएन”, उहाँले भन्नुभयो, “कहिले विद्यार्थीलाई निबन्ध, निवेदन, चिठ्ठी पत्र लेख्ने तरिका सिकाउने गरेका छौँ ।” कक्षा ४, ७ र ९ को कोर्सनै परिवर्तन भएको छ । ती कक्षाका विद्यार्थीलाई कसरी पढाउने भन्ने पिरलो बढी रहेको उहाँले बताउनुभयो ।

शुक्लाफाँटाका अधिकांश सामुदायिक विद्यालयमा अझै नयाँ पाठ्यपुस्तक पुगेका छैनन् । सुगमको क्षेत्र भए पनि पाठ्यपुस्तक नपुग्नु बिडम्बनानै भएको पूर्व शिक्षक शेरबहादुर भण्डारी बताउनुहुन्छ । “पाठयपुस्तक समयमै नपुगे विद्यार्थीले कसरी पढन सक्छन् । विद्यालयमा पढाएको कुरालाई घरमा दोहो¥याउनका लागि पाठ्यपुस्तकनै चाहिन्छ”, उहाँले भन्नुभयो, “पाठ्यपुस्तकको व्यवस्थाका लागि स्थानीय तहले पनि दायित्व वहन गर्नुपर्छ । त्यसो गरेको देखिदैँन ।”

पुनर्वास नगरपालिका– ११ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय अमरबस्तीका शिक्षक विजय उपाध्याय विद्यालयमा पढने ६० प्रतिशत जति विद्यार्थीले मात्रै नयाँ पाठ्यपुस्तक पाएको बताउनुहुन्छ । “विद्यार्थीको सङ्ख्या अनुसारको पाठ्यपुस्तक माग गरेकै छौंँ”, उहाँले भन्नुभयो, “जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीले पाठपुस्तकनै पु¥याउन सकिरहेको छैन । पाठ्यपुस्तक पाएका विद्यार्थीले समेत पूरै सेट पुस्तक पाएका छैनन् । एक दुई पुस्तकको अभावनै रहेको छ ।”

पाठ्यपुस्तक नपुगेका केही विद्यालयका शिक्षकले इन्टरनेटबाट पाठ्यपुस्तक डाउनलोड गरी पढाउनसमेत थालेका छन् । यसरी पढाउने शिक्षकको सङख्या भने थोरै छ । कक्षा कोठामा यसरी पढाएका विषय वस्तुलाई विद्यार्थीले घरमा पाठ्यपुस्तकै अभावमा दोहो¥याएर पढ्न पाउने गरेका छैनन् । जसबाट विद्यार्थीको पठनपाठनको कार्यमा अवरोध हुन थालेको छ । “शिक्षकले विद्यालयमा मौखिक रुपमा पढाएका विषय घर आउँदासम्म बिर्सीसकेका हुन्छौँ”, कक्षा ९ मा पढदै आएका विद्यार्थी अजय चौधरीले भन्नुभयो, “पाठ्यपुस्तक भए पढन सजिलो हुन्थ्यो पाउन सकेका छैनौँं । कहिले पाइने हो पत्तो छैन ।”

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड धनगढीका प्रमुख ध्रुव पन्त भने सुदूरपश्चिमका नौ वटै जिल्लाका ७० देखि ८० प्रतिशत सामुदायिक विद्यालयमा पाठ्यपुस्तक पुगिसकेको दाबी गर्नुहुन्छ । “कुनै कुनै कक्षाको पूरै सेट पुग्न सकेको छैन” उहाँले भन्नुभयो, “अर्को हप्ताभित्रै अपुग भएका किताबसमेत आइपुग्छन् । पाठ्यपुस्तकनै नपुगेका विद्यालयमासमेत छिटो भन्दा छिटो कसरी पाठ्यपुस्तक पुगाउन सकिन्छ । त्यसका लागि काम अगाडि बढाएका छौंँ ।”

अपुग भएका २० हजार पुस्तक माग गरेको उहाँले बताउनुभयो । “काठमाडौँबाट पुस्तक ल्याउनुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “बाढी पहिरोका कारण सडक ठाउँ ठाउँमा अवरुद्ध हुँदा पाठ्यपुस्तक पुग्न ढिलाइ हुन गएको छ । बाढीपहिरोका कारण अवरुद्ध सडक चलिसकेकाले चाँडै अपुग पाठ्यपुस्तक विद्यालयमा पुग्छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर