म्याग्दीको अर्जममा बङ्गुर पकेट क्षेत्र — OSNepal

म्याग्दीको अर्जममा बङ्गुर पकेट क्षेत्र

LC (KTM) June 20, 2022 0

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१ अर्जमलाई बङ्गुरको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) बनाइएको छ । परम्परागतरुपमा सँुगुर र बङ्गुरपालन गर्दै आएका त्यहाँका कृषकलाई व्यावसायिक बनाउन नगरपालिकाले चालू आर्थिक वर्षदेखि पकेट क्षेत्र घोषणा गरेको हो ।

नगरपालिकाको पशु सेवा शाखाका प्रमुख जनाश्रित श्रेष्ठले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत अर्जम पशुपालन तथा बहुउद्देश्यीय कृषक समूहमार्फत बङ्गुर पकेट क्षेत्र घोषणा गरिएको जानकारी दिनुभयो । उक्त कार्यक्रमका लागि चालू आर्थिक वर्षमा रु १० लाख विनियोजन भएकामा समूहमा आबद्ध कृषकलाई बङ्गुरको खोर निर्माण र पाठापाठी खरिदमा अनुदान दिइएको छ । नगरपालिकाको ५० प्रतिशत अनुदानमा २२ कृषकले बङ्गुरको सुधारिएको खोर बनाएका समूहका अध्यक्ष नरबहादुर थापाले बताउनुभयो ।

“बाइस जनालाई दुई÷दुई वटाका दरले पाख्रीबास जातको बङ्गुरका पाठापाठी उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “पानी पर्दा ओत लाग्ने र खुला ठाउँमा बस्ने, उमेर समूहअनुसार पोथी र भालेलाई छुट्टाछुट्टै राख्न मिल्ने आधुनिक खोर बनाएका छौँ ।”

खोर निर्माणका लागि प्रतिकृषक रु ३५ हजारका दरले अनुदान दिइएको अध्यक्ष थापाले बताउनुभयो । एउटा खोरमा १० भन्दाबढी बङ्गुर पाल्न सकिन्छ । करिब ३०० घरधुरी रहेको अर्जमका अधिकांशका घरमा धराने कालो जातको सँुगुर पालेका छन् । यसअघि परम्परागत शैलीका खोरमा बङ्गुर पालिएको थियो । घरायसी उपभोगका लागि बङ्गुर, सुँगुर पाल्दै आएका अर्जमका कृषकको आयआर्जन सुधारका लागि पकेट क्षेत्र सञ्चालन गरिएको वडासदस्य ताराप्रसाद थापामगरले बताउनुभयो ।

पाठापाठी र मासुका लागि बङ्गुर, सुँगुरको माग बढेको छ । बागलुङ, बेनीलगायत बजार क्षेत्रबाट सुँगुरको माग आउने गरेको छ । धेरै पाठापाठी जन्माउने, छिटो हुर्कने, घरमा फालिएको खानेकुराको सदुपयोग आम्दानी हुने भएकाले त्यहाँका बासिन्दाले बङ्गुरपालनलाई व्यावसायिक बनाउन थालेका छन् । प्रतिकिलो रु ५०० को हाराहारीमा बङ्गुर बिक्री हुन्छ । एउटै बङ्गुरलाई एक वर्ष पालेमा रु ५० हजारभन्दा बढी मूल्य पार्न सकिने कृषकले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर