झोलुङ्गे पुलले जोड्यो दुई पालिका, लामो दूरी घुमेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य — OSNepal

झोलुङ्गे पुलले जोड्यो दुई पालिका, लामो दूरी घुमेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य

LC (KTM) June 23, 2022 0

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिका–६ र व्यास नगरपालिका–६ को साँगेखोलामा झोलुङ्गे पुल निर्माणले दुई पालिकालाई जोडेको छ । पुल नहुँदा वर्षायाममा लामो दूरी घुमेर हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ ।पुल निर्माण भएर सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । पुल बनेपछि वर्षायाममा खोला तरेर वारपार गर्दाको समयमा मानिस बगाउने समस्या अन्त्य हुनाका साथै आवतजावत गर्न सहज भएको साँगेखोला–लामेरह पानीघट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिनुभयो ।

नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा निर्माण गरिएको उक्त पुलका लागि नेपाल सरकारबाट ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत व्यहोरिएको थियो । विसं २०७८ चैत १३ गते सुरु गरी विसं २०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरिएकामा अगाडि नै निर्माण सम्पन्न भएको अध्यक्ष थापाले बताउनुभयो । करिब ६७ मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब एक हजार भन्दाबढी मानिस प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति तनहँु शाखाका, झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिनुभयो ।

उक्त समितिको प्राविधिक सहयोगमा पुल निर्माण गरिएको उहाँले बताउनुभयो । पुलको अभावमा बर्सेनि मानिस बगाएर मानवीय क्षति हुने गरेकाले त्यस क्षेत्रका बासिन्दाले विगत लामो समयदेखि नै पुल निर्माणका लागि माग गर्दै आएका थिए । पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका–६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा पैदल हिँड्नुपर्ने बाध्यता अन्त्य भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर