पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान — OSNepal

पर्यटकको तथ्याङ्क सङ्कलन गर्न हलेसीमा मेसिन जडान

LC (KTM) June 25, 2022 0

खोटाङ, ११ असार-पर्यटकको तथ्याङ्क सङ्कलन गर्न खोटाङको त्रिधार्मिकस्थल हलेसीमा मेसिन (उपकरण) जडान गरिएको छ । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल हलेसी भित्रिने धार्मिक पर्यटकको तथ्याङ्क सङ्कलन गर्न माछापुच्छ्रे बैंकको सहयोगमा मानिस गणक मेसिन जडान गरिएको हो ।केही दिनअघि जडान गरिएको उक्त मेसिनको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख विमला राईले आज उद्घाटन गर्नुभएको छ । उपप्रमुख रमेशकुमार राउत, माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला, नगर प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष कमल गिरीलगायतको उपस्थितिमा प्रमुख राईले गणक मेसिनको औपचारिकरूपमा उद्घाटन गर्नुभयो ।

हलेसी आउने पर्यटकको गणना गर्नका लागि मन्दिरको गेट (प्रवेशद्वार)मा मेसिन जडान गरिएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिनुभयो । गणक मेसिनमा सङ्कलन भएको पर्यटकको तथ्याङ्क मासिक तथा वार्षिकरूपमा सार्वजनिक गरिने सूचना केन्द्रले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीड लाग्ने हलेसीमा यसअघिसम्म कति पर्यटक आउँथे भन्ने तथ्याङ्क थिएन । आगामी दिनमा गणक मेसिनमार्फत हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटकको यकिन तथ्याङ्क सङ्कलन गरेर उनीहरूको व्यवस्थापन सहज हुने मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएपछि यसअघि सिसी क्यामेरा जडान गरिएको थियो । हलेसीमा लाग्ने मेला तथा भीडभाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नगरपालिकाको सहयोगमा सिसी क्यामेरा जडान गरिएको हो ।

सिसी क्यामेरा जडान गरेपछि नगरपालिकाको तर्फबाट सूचना केन्द्र स्थापना गरेर हलेसीमा हुने हरेक गतिविधिको निगरानी गर्ने काम भइरहेको छ । महादेवगुफा, पार्वतीथान, बसाहगुफा, प्रवेशद्वार तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरेपछि दर्शनार्थी तथा पर्यटकसमेत सजग भएका छन् ।

सिसी क्यामेरा जडान गरेपछि हलेसी क्षेत्रका मुख्यमुख्य ठाउँमा ‘तपार्इँ सिसी क्यामेराको निगरानीमा हुनुहुन्छ’ भन्ने जानकारी लेखिएको बोर्डसमेत राखिएको छ । नगरपालिकाको करिब रु सात लाख लगानीमा मन्दिर क्षेत्रको विभिन्न ११ ठाउँमा सिसी क्यामेरा जडान गरिएको जनाइएको छ । सिसी क्यामेरा जडानपछि जथाभावी फोहर फाल्ने, अभद्र व्यवहार गर्ने, भीडभाड गर्नेजस्ता क्रियाकलाप न्यूनीकरण हुँदै गएको हलेसी मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यसअघि जथाभावी फोहरैफोहर र अव्यवस्थित देखिने हलेसीको बजार क्षेत्र अहिले सफा, सुन्दर र व्यवस्थित बन्दै गएको छ ।

विश्व प्रसिद्ध त्रिर्धामिकस्थल रामनवमी मेला १५ दिन, मङ्सिरमा बालाचतुर्दशी मेला १२ दिन, फागुनमा शिवरात्रि मेला सात दिन र भदौमा तीज मेला तीन दिन लाग्छ । मेला भर्न नेपालका सबै जिल्लाका साथै अन्य देशहरू भारत, चीन, भुटान, बङ्गलादेश, जापान, अमेरिकालगायतबाट भक्तजन आउने गरेका छन् ।हलेसी आउने दर्शनार्थी तथा भक्तजनका लागि धर्मशालासमेत निर्माण भइरहेको छ । धार्मिकरूपमा मात्र नभई प्राकृतिकरूपमासमेत विश्व प्रसिद्ध त्रिधार्मिकस्थल हलेसीको चौतर्फी विकासमा ‘हलेसी विकास समिति’ जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर