धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६, पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर आज दुई जना बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा धनकुटा नगरपालिका–४ का १५ वर्षीय सोनिम राई, धनकुटा नगरपालिका–२ का १४ वर्षीय उदय राई रहेका छन् । साथीहरु आपसमा मिलेर पोखरीमा पौडी खेल्न गएका थिए ।
पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका बालकहरुको उद्धार गरी जिल्ला अस्पताल धनकुटामा लगिएको थियो । उदयको जन्मदिनको अवसर पारेर उदयसहित स्वर्णीम र धनकुटा नगरपालिका–५ का सन्देश राई पात्लेखोला पौडी खेल्न गएका थिए ।
सन्देश भने सकुशल रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी चिरञ्जीवी दाहालले बताउनु भयो । पौडी खेल्न पोखरी छिरेका साथीहरु बेपत्ता भएपछि सन्देशले नजिकैको बस्तीमा गएर खबर गरेका थिए । घटना पश्चात जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मीराज अधिकारीको कमाण्डमा गएको प्रहरी टोलीले उद्धार गरेको थियो ।