बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्दार — OSNepal

बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ८३ जनाको उद्दार

LC (KTM) June 17, 2021 0

काठमाडौं, ३ असार-अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि बिहीबार दिउँसोसम्म ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिन्धुपाल्चोकमा ४ जना, पाल्पामा १ जना, कास्कीमा १ जना, डोटीमा १ जना र सप्तरीमा १ जना रहेका छन् ।बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ८० जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ८३ जनाको उद्दार गरी उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
बाढी पहिरोमा परी सिन्धुपाल्चोकमा १३ जना र जाजरकोटमा ७ जना गरी २० जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १५ जना पुरुष र ५ जना महिला छन् । वेपत्ताको खोजी कार्य जारी छ ।साथै सिन्धुपाल्चोकमा ५ जना, डोटीमा २ जना, कास्कीमा १ जना, स्याङजामा १ जना र म्याग्दीमा ३ जना गरी जम्मा १२ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सल्यान, बझाङ र दैलेख लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।बाढीको कारण १ सय ६५ वटा घर डुबानमा परेका छन् । ७४ वटा घर, ५ वटा गोठ, ६ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८० वटा घर परिवार विस्थापित भएका छन् भने ४ सय ९२ वटा पशु चौपायको मृत्यु भएको छ । अविरल वर्षाको कारण देशभर ३३ वटा जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् ।

उक्त घटनाबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् । साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर