भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने — OSNepal

भारतीय फोटो पत्रकार दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने

LC (KTM) July 01, 2022 0

काठमाडौं, १७ असार :

नेपाली फोटो पत्रकारहरुको छाता संगठन राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे)ले भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीलाई छुटाउन आर्थिक संकलन गर्ने भएको छ ।

खोटा मुद्रा बोकेको अभियोगमा साढे सात महिनादेखि झापाको जेलमा रहेका दुर्लभलाई छुटाउन एनएफपिजेले आर्थिक संकलन गर्ने भएको हो ।
एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएका दुर्लभको बाँकी कैद खरिद गर्न र जरिवाना तिर्न चन्दा संकलन गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

उनका अनुसार दुर्लभलाई कारागारबाट मुक्त गर्नका लागि फोटो पत्रकार समूहले आवश्यक रकम चन्दा संकलन गर्न लागेको हो । नक्कली अमेरिकी डलर साथमा बोकी हिँडेको कसुर झापा जिल्ला अदालतले दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

९ असारमा सजाय ठहर गर्दै असार १६ गते गरिएको कसूर निर्धारण अनुसार दुर्लभलाई एक वर्ष कैद र १५ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।
मलुकुी फौजदारी कार्याविधि संहिता, २०७४ को दफा १५५ ले एक वर्षभन्दा कम सजाय ठहर गरिएको मुद्दामा कैद बसेको समय बाहेक बाँकी समय दैनिक ५ सय रुपैयाँका दरले खरिद गर्न सक्ने व्यवस्था रहेकामा सोही प्रयोजनका लागि एनएफपिजेले रकम संकलन सुरु गर्न लागेको हो ।

अध्यक्ष वन्तले अनुसार दुर्लभ हालसम्म ७ महिना १५ दिन कैदमा बसिसकेको र बाँकी ४ महिना १५ दिन कैद सजायका लागि दैनिक ५ सय रुपैयाँका दरले ६७ हजार ५ सय रुपैयाँ तथा जरिवानावापतको १५ हजार रुपैयाँ गरी कुल ८२ हजार पाँचसय रुपैयाँ संकलन गर्न लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर