भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुल्यो — OSNepal

भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुल्यो

LC (KTM) July 06, 2022 0

बैतडी-भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका खुलेको छ । नाका बुधबार अपराह्न ४ बजेपछि खुलेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो । महाकाली नदीमाथिको रहेको उक्त पुलको भारतीय सिमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मतका लागि मङ्गलबार साँझदेखि बन्द गरिएको थियो । भारत सरकारले निर्माण गरेको उक्त पुल भारतीय पक्षले नै मर्मत गरेको हो ।

पुल मर्मतपछि नाकामा आवातजावतसमेत सञ्चालनमा आएको छ । यसअघि पुलको लक भाँचिएको सूचना प्राप्त भएपछि दुवै देशका सुरक्षा निकायले मङ्गलबार दिउँसो पुलको अवलोकन तथा निरीक्षण गरेपश्चात् मर्मत गर्ने सहमति भएको थियो ।

पुल जीर्ण भएको कारण पुल मर्मत नगरी सञ्चालनमा ल्याउँदा थप जोखिम सिर्जना हुनसक्ने विषयलाई मध्यनजर गर्दै पुलबाट हुने सबै आवागमन रोकेर मर्मत गरिएको हो । वर्षौँ पुरानो झोलुङ्गे पुल बेलाबेला मर्मत गरिँदै आएको छ । तत्कालको लागि काम दिने गरी मर्मत भएको पुलमा जोखिम भने कायमै छ । ब्रिटिसको पालामा बनेको पुल १८३० बाट सञ्चालनमा आएको थियो । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला कामचलाउको लागि मर्मत गरे पनि पूर्णरुपले मर्मत हुन सकेको छैन ।

झुलाघाटको महाकाली नदीमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म मोटरेबल पुलको काम अघि बढ्न सकेको छैन । उक्त नाकामा मोटरेबल पुलको माग गर्दै बैतडीवासी ३८ दिन लामो रिले अनशन बसेका थिए तर उक्त मागको कुनै सुनुवाइ भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर