उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट — OSNepal

उपराष्ट्रपतिसँग भारतीय राजदूतको शिष्टाचार भेट

LC (KTM) July 07, 2022 0

काठमाडौँ-उपराष्ट्रपति नन्दबहादुर पुनसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति भवन, हरितगृहमा भएको भेटमा दुई देशबीचको सम्बन्ध र सहकार्यका विविध पक्षमा कुराकानी भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।

भेटमा उपराष्ट्रपतिले नेपाल र भारतको सम्बन्ध विशिष्ट प्रकारको रहेको बताउनुभएको थियो । दुई देशबीच धार्मिक, सांस्कृतिक, आर्थिक सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै उहाँले सम्बन्धलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपतिले नेपाल भारत र चीनको बीचमा रहेको बताउनुहुँदै नेपाल, भारत र चीनबीच त्रिपक्षीय सहकार्य गर्नुपर्ने बताउनुभयो । त्रिपक्षीय सहकार्यमा नेपालले सकारात्मक भूमिका खेल्न सक्ने बताउनुभयो ।

भेटमा उपराष्ट्रपतिले नेपालको सरोकारमा भारतको सहयोग र सद्भावको खाँचो रहेकामा जोड दिनुभयो । नेपालले सन् २०३० सम्म मध्य आय भएको देश बन्ने लक्ष्य राखेको र उक्त लक्ष्य प्राप्तिमा भारतको सकारात्मक सहयोगको आवश्यकता रहेको बताउनुभयो । उहाँले भारतसँग नेपालको व्यापार घाटा उच्च रहेको बताउनुहुँदै व्यापार सन्तुलनका लागि भारतको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

उपराष्ट्रपतिसँगको भेटमा भारतीय राजदूत श्रीवास्तवले नेपाल भारतको असल छिमेकी मित्र भएको र नेपालसँग भारतको विशिष्ट सम्बन्ध रहेको उल्लेख गर्नुहुँदै दुई देशका साझा सवालमा सहकार्य गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने प्रयास गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर