वीरेन्द्रनगरका नौ स्थानमा बत्ती जडान – OSNepal

वीरेन्द्रनगरका नौ स्थानमा बत्ती जडान

LC (KTM) July 07, 2022 0

वीरेन्द्रनगर-उज्यालो र सुरक्षित सहर बनाउने उद्देश्यले वीरेन्द्रनगरका नौ स्थानमा हाइमार्स लाइट (बढी उज्यालो शक्ति भएको बत्ती) जडान गर्न थालिएको छ । कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा यहाँका नौ स्थानमा सो लाइट जडान गर्न लागिएको हो ।

नगरपालिकाका अनुसार चालु आर्थिक वर्षको बजेटअन्तर्गत रेडियो नेपाल, मूलपानी, शिवालय, सहकारी र वीरेन्द्रनगर–१२ को सत्यनारायण, कुमाइ, तीनकुने चोक, मुख्यमन्त्री निवास, बाङ्गेसिमल प्रहरीचौकी क्षेत्रमा बत्ती जडानको काम सुरु भइसकेको छ । नगर प्रमुख मोहनमाया ढकालले थप बत्ती जडानले रात्रिकालीन सहरी सौन्दर्यता, शान्तिसुरक्षा र ट्राफिक व्यवस्थापन प्रभावकारी हुने बताउनुभयो ।

नगरपालिकाका इञ्जिनीयर विशाल अधिकारीले निर्माण व्यवसायी कम्पनी कोभाल्ट इन्टरनेशनल काठमाडौँले जडानको काम सुरु गरिसकेको जानकारी दिनुभयो । प्रदेश सरकारले बजेट पठाउन ढिलाइ गर्दा बल्ल काम सुरु भएको उहाँको भनाइ छ । यसका लागि प्रदेश सरकारले रु एक करोड रकम पठाएको छ ।

नगरपालिकाले बत्ती जडानका लागि रु एक करोड नौ लाख लागत स्टिमेट गरी ठेक्का आह्वान गरेको थियो । कोभाल्ट इन्टरनेशनलले घटेर रु ६५ लाख ८९ हजारमा बत्ती जडान गर्न ठेक्का पाएको हो । वीरेन्द्रनगर नगरपालिकाले यसै वर्ष १२ स्थानमा रु एक करोड २० लाख लागतमा ‘हाइमार्स लाइट’ जडान गरिसकेको छ । —

Leave a Reply

Your email address will not be published.

भर्खर