भोलि निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै — OSNepal

भोलि निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

LC (KTM) June 20, 2021 0

काठमाडौँ, ७ असार – वैदिक सनातन धर्मावलम्बीले भोलि आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । भोलि निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ ।

स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । भोलि पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरेको छ ।नयाँ रुप परिवर्तनसहितको कोरोना महामारी चलेका बेला घरघरमा तुलसीको दल राख्दा र रोपण गर्दा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग पुग्ने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । तुलसीलाई चियाका रुपमा पनि प्रयोग गरिन्छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर