साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन् — OSNepal

साउदी अरबमा काम गर्दा अंगभंग भएका कृतबहादुर चन्दले एक रुपैयाँ पनि पाएनन्

LC (KTM) August 01, 2022 0

बैतडी, १६ साउन:

बैतडीको सुर्नया गाउँपालिका–१ हटैराजका कृतबहादुर चन्द २०७३ सालमा वैदेशिक रोजगारीका लागि साउदी अरब गए । पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काममा लगाइयो । साथै उनलाई मासिक १८ सय साउदी अरबियन रियाल पारिश्रमिक हुने भनिए पनि १४ सय रियाल मात्रै दिइयो । यसबाहेक खान बस्नसमेत आफैंले व्यहोर्नु पर्दथ्यो । र पनि यही सुविधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले भने रातदिन दुःख दिइरहे ।

‘मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउनेदेखि करेन्ट लगाउनेसम्म यातना दिए । अन्तिममा काम गर्ने क्रममै मेरो हातका औँलाहरू काटिएपछि म घर फर्किएँ,’ उनले भने । ४६ वर्षीय चन्दका बायाँ हातका औलाहरू चल्दैनन् ।

काम गर्ने बेला मेसिनले थिचिएर औलाहरू काटिएको उनले बताए । आफू घाइते हुँदा बिमाबापतको रकम वा अन्य कुनै राहत नपाएको बताए ।
उनले भने, ‘म घाइते हुँदा नेपाली १५ लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ । तर, एक रुपँयाँ पनि पाउन पाइँन ।’ आफूलाई झुक्याएर बिमाबापत पाउने रकम अरुले नै खाइदिएको हुन सक्ने उनको आशंका छ ।

‘म अनविज्ञ रहेको अरबी भाषामा केही कागजातहरू पनि बनाइए । त्यही कागजमा मलाई दस्तखत र औँँठाछाप गर्न भनियो । मैले जे भन्यो त्यही गरेँ । तर रकम भने पाइएन । मेरो रकम मलाई फसाउने मान्छेहरूले खाएको हुनसक्छ,’ उनले आशंका व्यक्त गरे ।

चन्दले साढे ३ वर्ष साउदी अरबमा काम गरेर पनि बिना पैसा घर फर्किन बाध्य भएको बताए । उनले भने, ‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरूसँग मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ ।’

घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनीसँग गरिदिएको सम्पर्कका आधारमा एक लाख ५० हजार रकम खर्च गरेर वैदेशिक रोजगारीमा गएको उनले बताए ।

विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने विषयमा जानकारी नै छैन ।

विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमार्फत केही रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए ।

उनले भने, ‘विदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ । त्यसका लागि राजदूतावासमार्फत कारबाही प्रक्रिया थाल्न सकिन्छ । माग भएका कागजातहरू तयार गरेर रकम पाउन सकिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर