दिलमाया सुनारको अन्तिम गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक — OSNepal

दिलमाया सुनारको अन्तिम गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक

LC (KTM) August 07, 2022 0

काठमाडौं । अन्तरजातिय विवाह झन् त्यसमाथी मध्यमवर्गिय परिवार र निम्न वर्गिय परिवारबीचको सम्बन्ध कस्तो बन्ला ? दुई परिवारमा जब धनको स्तर र जात मिल्दैन त्यसपछि हुने असहजता, समस्या अनि घर र माइती दुबै पक्षबाट सुन्नुपर्ने भनाई र भोगाइ निकै बिकराल हुन्छन् । हामीले यहि कारणले ‘आत्महत्या’ सम्मको समाचार यद्यपी सुन्नु परिरहेको छ ।

झण्डै यहि कथासँग मिल्दोजुल्दो घटना भयो गायिका दिलमाया सुनारको हकमा पनि । विवाहपछि माइती र घरको हेला भोगेकी दिलमायाले अन्ततः गत असार ११ गते मृत्युको मुखमा पुगिन् । यतिबेला उनै गायिका दिलमाया सुनारको समेत स्वर रहेको मर्मश्पर्शी तीज गीत ‘आफैंले रोजेको घर’ सार्वजनिक भएको छ ।

सञ्चारकर्मी एवं गीतकार सबिता पोखरेलले लेखेको गीतलाई चर्चित एवं लोकप्रिय गायक गायिकाहरु टिका पुन, राधिका हमाल, गायक अर्जुन सुनाम, राजु परियार, गायिका दिलमा सुना (स्व.) र गायक झलक संगीतम् र दिपक सुनारले स्वर दिएर प्राण भरेका छन् । गायिका दिलमाया सुनारको सम्भवतः यो नै अन्तिम गीत हो । गीतमा संगीत र संगीत संयोजन झलक संगीतम्को रहेको छ ।
गीतको भिडियोमा चर्चित कलाकारहरु नन्दा बस्याल, शितल केसी, बिशाल पहाडी, स्वस्तीका लामिछाने, सुमन बैरागी, मीना लामा र मकर बहादुर बानियाँ, लक्ष्मी भण्डारी र गीतकार सबिता पोखरेल समेतको अभिनय रहेको छ । कलाकार शितल केसी र विशाल पहाडीले पहिलोपटक तीज गीतमा अभिनय गरेका हुन् ।

झलक संगीतम्ले निर्देशन रहेकोे भिडियोलाई दुर्गा श्रेष्ठले छायांकन गरेका हुन् । प्रकाश परियारले सम्पादनमा तयार भएको भिडियोलाई ‘आलाप स्टुडियो’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।गीतको कथावस्तु मध्यम परिवारकी छोरी खान्दानी र कथित् उपल्लो जातको परिवारमा विहे भएपछि पाएको दुःख र पारिवारीक द्वन्वपछि एउटी नारीको संवेदना, भावना कस्तो बन्ला भिडियोमा छर्लङ्ग पारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *