जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन — OSNepal

जिल्ला अस्पताल खोटाङमा अक्सिजन प्लान्ट सञ्चालन

LC (KTM) August 09, 2022 0

खोटाङ-जिल्ला अस्पताल खोटाङमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । प्रदेश नं १ सरकार प्रदेश स्वास्थ्य मन्त्रालय विराटनगरको रु एक करोड ५० लाख लगानीमा स्थापना गरिएको हो । अस्पताल परिसरमा स्थापना गरिएको सो प्लान्टबाट दैनिक २० देखि २५ सिलिण्डर अक्सिजन उत्पादन हुने जिल्ला अस्पतालका बायोमेडिकल टेक्निसियन उषादेवी श्रेष्ठले जानकारी दिनुभयो । मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको प्लान्ट जिल्ला समन्वय समिति खोटाङका प्रमुख एवं अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष सनबहादुर राईले औपचारिकरूपमा शुभारम्भ गर्नुभएको छ ।

अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएसँगै सिलिण्डरमा अक्सिजन भरेर प्रयोग गर्न सुरु गरिएको जनाइएको छ । प्लान्टबाट उत्पादन भएको अक्सिजन अस्पतालमा भर्ना भएका बिरामीलाई निःशुल्क तथा निजी अस्पताललाई प्रतिकेजी रु १५ मा बिक्री गर्ने निर्णय अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राईले जानकारी दिनुभयो ।

प्लान्ट सञ्चालनमा आएपछि अक्सिजन खरिद गर्न विराटनगरलगायतका ठाउँ धाउनुपर्ने बाध्यता हटेको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताउनुभयो । “प्रदेश सरकारको सहयोगमा स्थापना गरिएको अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि हामी अक्सिजनमा आत्मनिर्भर भएका छौँ”, उहाँले भन्नुभयो, “बिरामीका लागि अक्सिजन निःशुल्क भएपछि हामीलाई काम गर्न पनि सजिलो भएको छ ।”

अहिले सिलिण्डरमा भरेर प्रयोग गर्न सुरु गरिएको अक्सिजन आगामी दिनमा निर्माणाधीन ५० शय्याको अस्पलात सञ्चालनमा आएपछि पाइप लाइनमार्फत बिरामीको शय्यामा पु¥याउने लक्ष्य राखिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना गरिएको १५ शय्याको अस्पताललाई ३० वर्षपछि सङ्घीय सरकारको करिब रु २१ करोड लगानीमा ५० शय्यामा स्तरोन्नति गर्ने काम थालिएको छ ।

मुन रक्स इन्टरनेशनल प्रालिले जडान गरेको अक्सिजन प्लान्टको ट्रस भने कच्चा बनेको भन्दै विरोध चौतर्फी भइरहेको छ । विरोधपछि प्रालिले ट्रसमा प्रयोग गरिएको जाली फेर्नुका साथै पर्खाल प्लास्टर गरेर जस्तापाता लगाएको छ । अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेसा लगाएर (टाँसेर) बनाइएको छ । तर ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । अन्य ठाउँमा पनि सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने हेभीवेट गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने जोखिम देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर