महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने — OSNepal

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

LC (KTM) August 10, 2022 0

काठमाडौं, २५ साउन

नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज (मंगलबार) दिउँसो साढे १ बजे त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आईलिगमा छनोट हुनेछ ।

‘प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।

दीपाले सम्झौता एक वर्षको भएको र सम्झौता रकम भने गोप्य रहेको बताइन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । आईलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ,’ दीपाले भनिन् ।

आज अगस्ट १० बाट सुरु हुने प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्नेछन् । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर