आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा — OSNepal

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

LC (KTM) August 10, 2022 0

तनहुँ-जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । उक्त केन्द्रले समय–समयमा स्थानीय तहका ग्रामीण क्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिँदै आएको केन्द्रका प्रमुख डा रामप्रवोध मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा झण्डै ६५ हजार मानिसले उपचार लिएका छन् ।

स्वर बसेका, श्वासप्रश्वाससम्बन्धी समस्या भएका, दम, बाथ, हाडजोर्नी, ग्याष्ट्रिक, प्रसूति, बमनथेरापीलगायत सेवा लिन अहिले पनि स्वास्थ्य केन्द्रमा भीड नै लाग्ने गरेको छ । आव २०७७÷७८ मा ५५ हजार आठ सय ४२ जनाले उपचार लिएको सो कार्यालयले जनाएको छ ।

त्यसैगरी २०७६÷७७ मा ३८ हजार पाँच सय ८५ जनाले स्वास्थ्योपचार सेवा लिएका थिए । उक्त केन्द्रमा पञ्चकर्म र क्षारसूत्र विधिबाट विभिन्न रोगको सफल उपचार गरेपछि मानिसको आयुर्वेदिक उपचारतर्फ आकर्षण बढ्दै गएको केन्द्रका प्रमुख डा मण्डलले जानकारी दिनुभयो । उक्त केन्द्रमा सेवा लिन तनहुँ, छिमेकी जिल्ला गोरखा, लमजुङका केही क्षेत्रका मानिससमेत आउने गरेका छन् ।

आयुर्वेदिक पद्दतिबाट उपचार गर्दा कुनै असर नगर्ने भएकाले पछिल्लो समय मानिसको यसतर्फ आकर्षण बढ्दै गएको उहाँले बताउनुभयो । एलोप्याथिक विधिबाट लामो समय उपचार गरेर थकित भएका व्यक्ति पनि आयुर्वेदिक उपचारमा आउने गरेका छन् । सो केन्द्रले प्यारालाइसिस, बाथ, जोर्नीका समस्या भएका बिरामीलाई लक्षित गरी फिजियोथेरापीका लागि मेसिन ल्याइसकेको जनाएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा फिजियोथेरापी मेसिन ल्याइएकाले छिट्टै सञ्चालनमा ल्याई सेवा दिने लक्ष्य रहेको डा मण्डलले जानकारी दिनुभयो ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर