शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता — OSNepal

शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता

LC (KTM) August 10, 2022 0

एथेन्स-एजियन सागरको रोड्स टापुमा गत राति शरणार्थी र आप्रवासी बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति बेपत्ता भएका छन् । दुर्घटनामा परेका अन्य २९ जनालाई उद्धार गरिएको ग्रीसको तटरक्षक बलले बुधबार जनाएको छ ।रोड्सको दक्षिणमा रहेको समुद्री क्षेत्रमा तटरक्षक बलका दुई जहाज, ग्रीक नौसेनाको जहाज, नजिकैका अन्य तीन जहाज र वायु सेनाको एक हेलिकप्टरले हराइरहेका मानिसहरूको खोजी तथा उद्धार कार्य जारी राखेको ग्रीसका अधिकारीहरूले बताएका छन् ।

यस क्षेत्रमा व्यापक आँधी आएका कारण तत्काल उद्धार कार्यमा बाधा पुगेको थियो । टर्कीको भूमध्यसागरीय तटको सबैभन्दा ठूलो शहर अन्टाल्याबाट दुई दिनअघि इटालीलाई अन्तिम गन्तव्य बनाई छुटेका डुङ्गामा ६० देखि ८० जना सवार रहेको ग्रीसको तटरक्षक बलले इमेलमार्फत जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सन् २०१५ मा शरणार्थी र आप्रवासीहरूको ठूलो प्रवाह सुरु भएयता १० लाखभन्दा बढी मानिस ग्रीस पुगिसकेका छन् । सन् २०१६ को हिउँदमा बाल्कन मार्गको सीमा बन्द नहुँदासम्म अधिकांशले युरोपका अन्य देशहरूमा आफ्नो यात्रा जारी राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर